१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिथिलाको मुहारमा हुम्लाको चिनो

ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा अर्गानिक खाद्यान्नसहित हुम्लाकी बेलमती रोकाया र मिथिलाको चित्रयुक्त ऐना नियाल्दै सरिता मण्डल।

एकातिर मिथिलाको प्राचीन गाथा झल्काउने आकर्षक सामग्री बेचेर सरिता मण्डल मुस्कुराउँदै छिन्। अर्कोेतिर हुम्लाकी बेलमती रोकाया परम्परागत खाद्य सामग्री चिनो, उवा, जिम्बुलगायतका सामग्रीको महत्व बुझाउँदै छिन्।  

ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा टाँगिएको मिथिलाका कलायुक्त ऐनामा प्रतिविम्बित हुम्लाका आर्गानिक ‘चिनो’हरूले धेरैको मन छोएको छ। ‘मैले एकैपटक हिमाल र तराई आमने–सामने नियाल्न पाए,’ मिथिला चित्रयुक्त ऐना किनेपछि ललितपुरकी एलिना महर्जनले भनिन्, ‘सिंगो नेपाल ललितपुरमा जोडियो जस्तो लाग्यो।’

महर्जनले भनेजस्तै बिहीबारबाट जारी यो मेला नेपालभरिका महिला उद्यमीलाई एकैठाउँमा ल्याएर जोड्न सफल भएको छ। हिमाली भेगमा भएको प्राचीन खाद्यान्नले धेरैको मन छोएकोमा रोकाया खुसी छिन्। ‘हाम्रो उत्पादनले राजधानीमा माया पाएको छ,’ उनले भनिन्, ‘यही मायाको कोसेली बोकेर हामी जिल्ला फर्कने छौं।’  

उनले भनेजस्तै सरिता मण्डल पनि आफ्नो कलाकृतिको कदर भएको सुनाउँछिन्। ‘किन्नेहरू किन्छन्, नकिन्नेले पनि कलाको कदर गरेका छन्,’ धनुषा धनौजीकी मण्डलले भनिन्, ‘हामीले मेलाबाट धेरै खुसी पाएका छाैं।’ मेलाले जहिले पनि मनोबल बढाउने मण्डलको बुझाइ छ। ‘मेलामा हामीले व्यापार मात्र हैन, नयाँ मानिस चिन्ने अवसर पनि पाएका छांै,’ उनले भनिन्, ‘यहाँ हाँसिल गरेका ज्ञानले आफ्नो व्यवसायको परिधी झनै फैलिएको छ।’  

मेलामा ढाकाका सामान, स्वदेशी तथा विदेशी खानेकुरा, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडिबुटी, सजावटका सामानलगायत अन्य थुप्रै आकर्षण रहेको छ। १ सय ९ स्टल रहेको मेलामा नेपालका उद्यमीसहित भारत, बंगलादेश, पाकिस्तानका महिला उद्यमीका विभिन्न उत्पादन रहेका छन्।

उनीहरू आफ्नो सामान बिके पनि नबिके पनि उत्तिकै खुसी छन्। ‘यहाँ हामीले आफ्नो सामान बेच्ने मात्र हैन, अरूको सामान र सिप हेर्ने अवसर पनि पाएका छाैं,’ तनहुँकी तुलसी शाह भन्छिन्, ‘एक अर्काका अनुभव बाँड्ने अवसरकोरूपमा मेलालाई लिएका छौ।’ शुक्ला गण्डकी धुप उद्योगकी शाहले धेरै मानिसलाई सामान देखाउन पाउनु पनि ठूलो अवसर रहने सुनाइन्। ‘कति धुप बिक्री भयो भन्दा पनि चार दिनदेखि तनहुँको धुप ललितपुरमा मगमगाइरहेको छ,’ उनले भनिन्, ‘धुपको मगमगले पक्कै पनि राम्रो संकेत ल्याउने छ।’  

सातै प्रदेशका जिल्लाका उत्पादन, उनीहरूको सिप, सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिगो पहिचान बनाउने भूमिका महासंघले निर्वाह गर्दै आएको नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवाली बताउँछिन्।  

‘दुर–दराजमा रहेका महिलालाई उद्यममार्फत मूलधारमा ल्याउनु महासंघको उद्देश्य हो,’ उनले भनिन्, ‘उद्यमी महिलाको मनोबल बढाउनका लागि यो मेला सफल भएको विश्वास लिएका छौं।’ नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको ज्ञवालीले जानकारी दिइन्।  

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले महिला उद्यमीहरूको मनोबल बढाउने काम गर्न पाउँदा खुसी लागेको बताइन्। ‘उनीहरूलाई स्टल मात्र हैन, व्यवसायका विभिन्न सिप र ज्ञान दिन सफल भएका छौं,’ उनले भनिन्, ‘महिलाले उद्यममा देखाएका उत्साहले पक्कै पनि मुलुकलाई अगाडि बढाउने छ।’  

मेलामा नेपालसहित भारत, बंगलादेश, फ्रान्स, अमेरिकालगायतका देशका महिला उद्यमीहरूको सहभागिता छ। मेला सोमबारसम्म सञ्चालन हुनेछ ।

ललितपुरको हेरिटेज गार्डेनमा जारी छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा अर्गानिक खाद्यान्नसहित हुम्लाकी बेलमती रोकाया र मिथिलाको चित्रयुक्त ऐना नियाल्दै सरिता मण्डल।

प्रकाशित: ६ भाद्र २०७९ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App