५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई सम्मान

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बताए। उनले भने, “आरोहीको कीर्तिमानले नेपालको शिर ठाडो बनाएको छ। यस्ता सफल व्यक्तिलाई सरकारले नगदसहित पुरस्कृत गर्नुपर्छ। म यहाँमाझ प्रतिबद्धता जनाउन चाहन्छु सरकारकोतर्फबाट राम्रै नगदसहित सम्मान गर्न मन्त्रालयको तर्फबाट तत्कालै प्रक्रिया अघि बढाउनेछु।”

पर्यटनमन्त्री श्रेष्ठले आरोहीलाई सरकारको तर्फबाट परिचयपत्र वितरण गर्ने तथा आरोहीको ‘आर्काइब’ बनाउन तत्कालै पहल गर्ने बताए। मन्त्री श्रेष्ठले कीर्तिमानी सानु शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको दुई–दुईपटक आरोहण गरेर बनाएको कीर्तिमान विश्वकप फुटबल र ओलम्पिकमा पदक जितेकोजस्तो उपाधि रहेको बताए।  

“खेलकुदमा भएको भए प्रतिस्पर्धामा जितेपछि तुरुन्तै हर्सोल्सासका साथ खुसी र प्रचार–प्रसार हुने थियो। आरोही सानु शेर्पाले जुन खालको कीर्तिमान कायम गर्नुभएको छ यो फुटबलमा वल्र्डकपमा उपाधि जितेभन्दा कम होइन, संसारमा हुने चाहे ओलम्पिक, विश्वकप होस् त्यसको तुलनामा यो कम होइन, साँच्चिकै गौरव गर्न लायक सफलता आरोहीको कीतिमानले गरेको छ”, उनले भने ।

कार्यक्रममा सांसद जिपछिरिङ लामाले देशको इज्जत र गौरव बढाउन कीर्तिमानी आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यका तर्फबाट आरोहीको सामाजिक सुरक्षालाई ध्यान दिन जरुरी भएको उल्लेख गरे । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतारोहीको कीर्तिमानीले नेपाललाई विश्वभर पहिचान गर्न मद्दत पुगेको बताए।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालीको शिर उँचो बनाउन कीर्तिमानी आरोहीले भूमिका खेलेको भन्दै आरोहीको समस्यालाई सरकार र निजी क्षेत्रको सहकार्यमा समाधान गरिनुपर्ने धारणा राखे।

कीर्तिमानी आरोही सानु शेर्पाले आफ्नो आरोहण सम्पूर्ण नेपालीको खुसीसँग जोडिएको भन्दै सरकारीतवरबाट आरोहीलाई प्रोत्साहन हुनुपर्ने बताए। अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पाले आरोहीलाई इज्जत र सम्मानपूर्वक बाँच्नसक्ने वातावरण बनाइनुपर्नेमा जोड दिए।

पर्यटनमन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पालाई आफ्नो एक महिनाको तलब बराबरको रकम दिने घोषणा गरेका छन्। उनले आरोहीको प्रोत्साहनस्वरुप उक्त रकम दिने बताए। यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले दुई आरोही सानु शेर्पा र निमा ग्याल्जेन शेर्पालाई जनही रु एक लाख रकम दिने घोषणा गरेका थिए।

कीर्तिमानी आरोही सानु शेर्पाले विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहो पुर्याएर आरोहण गरी विश्वकै पहिलो र एक्लो आरोही बनेका छन्। निमा ग्याल्जेन शेर्पाले आठ हजारभन्दा अग्ला १४ वटै हिमालको पहिलोपटक आरोहण गरेर कीर्तिमान बनाएका छन्। सो अवसरमा सङ्घको तर्फबाट दुई कीर्तिमानी आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।  रासस

प्रकाशित: ४ भाद्र २०७९ १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App