७ वैशाख २०८१ शुक्रबार
समाज

तीव्रगतिका सवारीलाई ‘अन द स्पट’ कारबाही

फाइल तस्बिर

सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले रूपन्देहीमा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ। तीव्र गतिका कारण सवारी दुर्घटना बढ्न थालेपछि राडार गन (स्पिड जाँच गर्ने लेजर गन मेसिन) सहित ट्राफिक प्रहरीले गति नियन्त्रण अभियान चलाएको हो।

रूपन्देहीमा हरेक वर्ष सवारी दुर्घटनाको तथ्यांक बढ्दो छ। ती दुर्घटनामध्ये ९० प्रतिशत तीव्र गतिका कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। दुर्घटना न्यूनीकरणका लागि तीव्र गतिमा सवारी चलाउनेलाई राडार गनमार्फत सडकमै जाँच गरी कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए।

प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणको यो अभियान प्रारम्भिक चरणमा सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल ६ लेन सडकमा केन्द्रित गरिएको छ। आगामी दिनमा यो अभियान हुलाकी सडक र बाइपास सडकमा समेत सञ्चालन गरिने प्रहरी निरीक्षक केसीले बताए। 

केसीका अनुसार राडार गनले परैबाट तीव्र गतिमा आइरहेका सवारी साधनबारे संकेत दिने गर्छ। यसले तीन सय मिटर परबाट आइरहेको सवारी साधनको गति मापन गर्छ। सो सवारीको गति तीव्र छ भने राडार गनले एक सय मिटर परैबाट साधनको नम्बर प्लेटसहितको फोटो खिच्छ र त्यसको गतिसहितको विवरण स्टोरेज गर्छ। सो विवरण तुरुन्तै प्रिन्ट गरेर प्रमाणका लागि सवारी धनीलाई दिन सकिने व्यवस्थासमेत रहेको प्रहरी निरीक्षक केसीले बताए।  

त्यसरी तीव्र गतिमा हुइँकिएका सवारी साधन रोकेर सम्झाइबुझाइ गर्नुका साथै कारबाहीस्वरूप ५ सय रूपैयाँ तिराउने गरिन्छ। राडार गनले सवारी गति मापन गर्दा प्रति घन्टा एक सय किलोमिटरको गतिमा समेत सवारी साधन हुइँकिने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App