१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

मनहरी १ को स्वास्थ्यचौकी भवनको फर्मा निकालेपछिको दृश्य।

मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडामा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा गम्भीर लापरवाही भएको पाइएको छ। भवनको ढलानबाट फर्मा निकालेसँगै लापरवाही भएको खुलेको हो। ढलान गरेको छतमा बाहिरैबाट फराकिलो स्थानमा रड देखिएको छ।

अहिले सामाजिक सञ्जालमा उक्त फोटो भाइरल बनेको छ। स्वास्थ्य चौकी भवन निर्माणको काम एउटै स्तरमा नभएको, बिम समेत तोकिएको साइज अनुसार नराखेको र टेडोमेडो गरी बनाएको पाइएको छ। ढलानमा भाइब्रेटर नलगाएकोले फर्मा निकालेपछि बाहिरैबाट ह्वाङ्गै रड देखिएको छ।

कमसल काम भएको र कमजोर भवन निर्माण हुन लागेको भन्दै स्थानीयले गुनासो गुनासो गरेका छन्। यसमा ठेकेदार कम्पनीसँगै प्राविधिकको समेत लापरवाही भएकोले कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ। २५ लाख ८४ हजार ४२५ रुपैयाँ बजेटमा २०७८ असोज २८ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०७७ असोज २९ गते सम्झौता भएको थियो।

तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७९ असार ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने भन्दै पहिलो पटक म्याद थप भएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि दोस्रो पटकका लागि आगामी असोज १५ सम्मको म्याद थपिएको छ। प्रोपाइटर प्रदीप घिमिरे रहेको गुरुकुल बिल्डर्सले स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का पारेको थियो। मनहरी १ कै स्थानीय नवराज पौडेलले स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा लिएर काम गरिरहेका थिए।

मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले ककाम नै कमजोर गरेकोले अहिले भवनको कमजोरीको फोटो सार्वजनिक भएको प्रतिक्रिया दिए। ‘यसमा निर्माण कम्पनी, कम्पनीसँग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

यता गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले स्वास्थ्यचौकी भवन निर्माणमा भएको लापरवाहीको विषयमा जानकारी आएको बताउँदै तुरुन्तै अनुगमनमा जाने बताए। ‘मलाई खबर आएको छ। अनुगमनमा जानेछु। गलत गरेको प्रमाणित भए भुक्तानी रोक्नेछौं,’ कालाखेतीले भने, ‘प्राविधिक लिएर पुग्नेछु। काम बिगारेको भए बनाएपछि मात्रै भुक्तानी दिइनेछ।’ यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनीको स्थानीय प्रतिनिधि नवराज पौडेललाई सम्पर्क गर्दा फोन उठाएनन्।

प्रकाशित: १ भाद्र २०७९ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App