१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा ६ महिना पछि युरिया मल: मलमा बिचौलियाको हावी भएको किसानको गुनासो

सिन्धुलीमा ६ महिना पछि युरिया मल आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडमा ६ महिना पछि युरिया मल आएको हो। गत फागुनबाट नै वैधानिक रुपमा युरिया मल नआएपछि किसानहरु मल नपाएर हैरानी बनेका थिए। ६ महिनापछि आएको मल पनि पाउन नसकेको भन्दै किसानहरुले कम्पनीको गेटमै नाराबाजी गरेका थिए।  

लामो समयपछि युरिया मल आएपछि युरिया मल किसानबाट जफत हुने डरले कडा सुरक्षाकाबीच कृषि सामग्री कम्पनी सिन्धुलीमा गोदाम गरिएको छ। किसानहरुले कम्पनीबाट सिधै मल पाउनु पर्ने भन्दै गेटमा पुगेपछि मल जफत हुने डरले जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलले सुरक्षा दिएर मल गोदाम गरिएको हो। मल सहकारीमार्फत मात्रै किसानले लैजान सक्ने भन्दै कृषि सामग्रीले किसानलाई मल नदिएको किसानहरुको गुनासो छ। 

हामीलाई मल दिइएन, स्थानीय किसान कृष्ण अधिकारीले भने, मलमा बिचौलिया हावी भएको छ। उनले मलकाे हाहाकार भएको समयमा थोरै आएको मलमै सहकारीमार्फत वितरण गर्ने भन्दै बिचौलियामार्फत किसानलाई दिने तयारी भएको आरोप लगाए। यहा भन्दा सहकारीमा महगाें पर्छ उनले भने, हामीलाई यहिबाट दिने व्यवस्था गरियोस्।  

किसानहरु मल पाउनुपर्ने भन्दै कम्पनीमै गएपछि सुरक्षाकर्मीले गेट बाहिर किसानलाई निकालेको थियो। कम्पनीले १० हजार बोरा मल कम्पनीमा आउने र जसमध्ये ६३ सय बोरा युरिया मल आइसकेको र बाँकी आउने क्रम जारी रहेको बताएको छ। कम्पनीका कार्यालय प्रमुख नबराज महतका अनुसार गत फागुनदेखि नै युरिया मल नआएको र हाल दश हजार बोरा युरिया मल आएको बताए। उनले सरकारको नियमअनुसारनै स्थानीय तहको सिफरिसमा कृषि सहकारीमार्फत मल वितरण हुने प्रक्रिया रहेको र सोही अनुसार कार्यालयले व्यवस्था मिलाएको बताए। 

उनले किसानको माग र आवश्यकता भन्दा निकै कम मल आएकाले समस्या भएको बताए। कम्पनीमा गोदाम गरिएको मल स्थानिय तहको सिफारिसका आधारमा विभिन्न कृषि सहकारीलाई उपलब्ध गराइने र सहकारीमार्फत किसानले पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। कृषि सामग्री केन्द्रबाट वितरण गर्न सम्भव हुदैन, उनले भने मल निकै कम आएको छ त्यसैले आवश्यकतालाई प्राथमिकिकरण गरेर सहकारीमार्फत वितरण हुनेछ। 

किसानहरुले कृषि सामग्री केन्द्रबाट सिधै मल पाउनुपर्ने माग राखेको थिए। कृषि सामग्री केन्द्रको कार्यालय र कमलामाई नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए। कृषि सामग्री केन्द्र सिन्धुलीको कार्यालय मार्फत सिन्धुली रामेछाप र दोलखामा मल वितरण हुने कार्यालयले जनाएको छ। सोही अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाले पाउनुपर्ने जति मल आवश्यकताका आधारमा नगरपालिका भित्रका सहकारीमा पठाउने निर्णय भएको कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिए।  

युरिया मल कृषि सामग्री कम्पनीमा १६ हजार ९ सय ४० रुपैयाँ प्रतिमेट्रिकटन पर्ने र सहकारीमार्फत किसानहरुले ढुवानी खर्च र थप प्रतिबोरा ५० रुपैया कार्यालय सञ्चालन खर्च थपिने भएकाले सोही अनुसार हुने कार्यालयले जनाएको छ। स्थानीय निकायबाट सिफारिस भएका सहकारीले मात्रै मल वितरण गर्न पाउने व्यवस्था रहेको कार्यालय प्रमुख महतले जनाए।

प्रकाशित: २९ श्रावण २०७९ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App