खेतीपाती सकेर अहिले थारू समुदाय ‘हरेरी पूजा’मा व्यस्त छन्। खेतीपातीमा कुनै किसिमको रोगव्याधि नलागोस् र बालीनाली सप्रियोस् भनेर किसानहरू अहिले हरेरी पूजामा व्यस्त रहेका छन्। बर्खे खेती सकाएर बालीको सुरक्षाका लागि थारू समुदाय आदिम कालदेखि नै हरेरी पूजा गर्दै आएका हुन्।
हरेरी पूजामा थारू समुदायका किसानले गाउँको साझा देउता ‘भुइँया भवानी’ को पूजा गर्ने गर्छन्। गाउँका सबैले धान रोपी सकेपछि साउन महिनामा सामूहिकरूपमा हरेरी पूजा गर्छन्। थारू गाउँमा यो पूजा गरेपछि खेतीपातीमा कुनै किसिमको रोग व्याधि नलाग्ने, खेती हरियो भइरहने र बढी अन्न फल्ने जनविश्वास छ। सोही अनुसार थारू गाउँमा हरेरी पूजा भइरहेका छन्।
धनगढी उपमहानगरपालिकाको जाइँ गाउँमा पनि थारू समुदायले भव्यताका साथ हरेरी पूजा गर्न थालेका छन्। उनीहरु शुक्रबार राति जाग्राम बसेर शनिबार बिहान हरेरी पूजा गर्न थालेका छन्। हरेरी पूजा विधि सकेपछि चार दिन उनीहरूले हरेरी संस्कृति जगेर्ना गर्न ‘हरेरी महोत्सव’को आयोजना गर्न थालेका छन्। पहिलो दिन गाउँमा केसौकी गर्ने, मरुवा वा देउथानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोचारण गर्ने गरिन्छ। यसरी गर्दा अग्निले नछोए राम्रो शुभ वर्ष हुने विश्वास छ। पूजाको भोलिपल्ट पूजारीले दिएको खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउँदा खेती सप्रने र यसले बाली जोगाउँछ भन्ने विश्वास रहेको जाइँ गाउँका भलमन्सा कूलवीर चौधरी बताउँछन्।
प्राचीनकालमा महादेवले आफ्नो खेती हेरेर घर आउनै विर्सिन्थे। घरमा पार्वती खानाका लागि पर्खदा पर्खदै थाकेर एकदिन महादेवलाई घर नआउनको कारण सोध्दा राम्रो खेती देखेर महादेवले घर आउन मन नलागेको बताएपछि पार्वतीले धानमा कीरा लगाएको किंवदन्ती सुनाउँदै गाउँका अगुवा धनबहादुर चौधरीले भने,‘महादेव निराश भएपछि पुनः पार्वतीले दूध पानीमा हालेर तन्त्रमन्त्र गरेर महादेवलाई खेतबारीमा छर्न पठाइन्। पार्वतीको त्यही शक्तिले धानखेती पुनः पहिलेकै जस्तो भयो। त्यही किंवदन्ती अनुसार थारू समुदायले पनि हरेरी पूजामा दूधसहितको अभिषेकलाई खेतबारीमा छर्ने र हरेरी पूजा मनाउने गर्दै आएका छन्।’
थारूको मौलिक तथा परम्परागत हरेरी पूजालाई संरक्षित गर्दै जाइँ गाउँमा हरेरी पूजापछि चार दिनसम्म हरेरी महोत्सवको आयोजना गर्न थालिएको थारू वुद्धिजीवी विनय चौधरीले भने,‘थारूहरूको मौलिक संस्कृतिअनुसार यसपालि पनि धनगढीको जाइँ गाउँमा हरेरी पूजापछि ‘हरेरी महोत्सव’को आयोजना गर्न थालेका छौँ।’ हरेरी महोत्सवमा थारू भेषभूषा तथा संस्कृति प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेर चार दिनसम्म हरेरी महोत्सव उल्लासमय तरिकाले मनाइने उनले बताए।
हरेरी पूजा नभएसम्म थारू गाउँमा मादल बजाउन पाइँदैन। यो पूजापछि मात्र थारू गाउँमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको बताउँदै उनले भने,‘हरेरी पूजापछि मात्रै थारू गाउँमा नाचगानको सुरुवात हुने भएकाले सोही अनुसार हामीले महोत्सव आयोजना गरी सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका छौँ। यहीँदेखि थारू गाउँमा यसवर्षको नाचगानको सुरुवाती खोलेका छौँ।’ हरेरी पूजापछि हुने हरेरी महोत्सवमा चार दिनसम्म थारू संस्कृति झल्कने नाचगान हुने बताउँदै थारू समाजसेवी रामप्रसाद चौधरीले भने,‘हामीले महोत्सवमा थारू कलाकारहरू निम्त्याएर उनीहरुले प्रस्तुति दिनेछन्।’ महोत्सवमा थारू सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत हुने उनले बताए।
हरेरी पूजा तथा महोत्सवका बारेमा जानकारी दिँदै जाइँ गाउँका भलमन्सा तथा थारू अगुवाहरू। तस्बिरः पुष्पराज जोशी÷नागरिक
प्रकाशित: २७ श्रावण २०७९ १३:४७ शुक्रबार