१६ चैत्र २०८० शुक्रबार
समाज

मदन भण्डारी लोकमार्गः असारीको पुल चल्यो, ज्यामिरेको अन्तिम, खैराहाको रोकियो

भर्खर सञ्चालनमा आएको असारी खोलास्थित पक्की पुल। तस्बिरः महेश्वर

राष्ट्रिय महत्वको सडक ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत गाईघाट–बेलटार खण्डमा पर्ने असारी खोलामा पक्की पुल सञ्चालनमा आएको छ। बर्खायाममा सामान्य वर्षामै बाढी आउँदा पैदल र सवारी यात्राको आउजाउ रोक्ने असारी खोलामा निर्माण सुरु भएको ९ महिनामै पुल बनेर बुधबारदेखि यातायात आउजाउ सुरु भएको हो।  

३५ मिटर लामो डबल लेनको उक्त पुल करिव १० करोड लागतमा निर्माण भएको हो। त्यहाँ पुल नहुँदा गत वर्षसम्म सामान्य वर्षामै पनि बाढीले आवागमन रोक्ने गरेको थियो। सानो भए पनि बाढीले सवारी आवागमन रोक्ने समस्या पुल बनेसँगै हटेपछि स्थानीयदेखि लोकमार्गमा आउजाउ गर्ने लामो तथा छोटो दूरीका यातायातसम्मलाई सहज भएको छ।

एक स्पामको पुल लामा/शर्मा जेवीको ठेक्कामा स्थानीय निर्माण व्यवसायी स्वामीनारायण आशिर्वादले निर्माण सकेको हो। गत आर्थिक वर्ष सुरुमै टेण्डर पारेर काम थालेको पुल वर्षाले बाढी आउन थालेपछि छिटो छिटो बनाएर पुर्णरुपमा निर्माण भईनसके पनि बाढीबाट बच्न सहज हुने गरी गाडी आउजाउ गर्ने बनाइएको निर्माण कम्पनी प्रतिनिधि मेघराज बुढाथोकीले बताए।

उनका अनुसार पुलमा रंगरोगन र एप्रोच सडक बनाउन मात्र अब बाँकी छ। भदौदेखि ती काम पनि गरेर दसैंतिहारसम्ममा पुलको काम पूर्णरुपमा सम्पन्न हुने बुढाथोकीले बताए। अहिलेकै बर्खाको कहरबाट बचाउने उदेश्यले काम छिटोछिटो गरेर निर्धारित समय अगावै पुल सकेपछि यातायात आउजाउ गर्न सहज भएको छ। तत्कालीन ‘धरान–चतारा–कटारी–सिन्धुली–हेडौंडा जोड्ने बैकल्पिक सडक निर्माणका लागि विस्तृत परियोजा प्रस्ताव (डिपिआर) बनाउँदा असारी खोलालगायत दर्जन बढी खोला खहरेमा पुल बनाउन छुटेको थियो।

सो वैकल्पिक सडकलाई मदन भण्डारी लोकमार्गमा परिणत गरिएसँगै बसाहा–गाईघाट–कटारी खण्डमा डिपिआर गर्न छुटेका दर्जन खोला खहरेमा पुल बनाउन पुन स्टीमेट गरिएको थियो। जसु अनुसार छुटेका खोला खहरेमा गतवर्षदेखि धमाधम पक्कीस् पुल निर्माण कार्य भइरहेको छ। डिपिआर गर्न छुटेका गाईघाट–बेलटार–बसाहा खण्डका असारी, खैराहा, ज्यामिरे, लामा र सुन्दरी खोलामा एकैचोटी टेण्डर हालेर पुल निर्माण कार्य थालिएको थियो।

जसमध्ये असारी र सरस्वतिका पुल पूर्णरुपमा बनिनसके पनि काम चलाउ यातायात आउजाउ गर्न थालिएको लोकमार्ग कार्यालयले जनाएको छ। कार्यालय प्रमुख (डिइ) गोपाल खकुरेलका अनुसार असारी र सरस्वती खोलाका पुल एक/एक स्पामका भएकाले छिट्टै बनिसकेर गाडी चल्न सुरु भएको हो। लामा खोला र ज्यामिरेका पुलहरु भदौ दोस्रो सातासम्ममा गाडी चल्ने गरी निर्माणको अन्तिम चरणमा पुगेको खकुरेलले बताए।

खैराहाको पुल निर्माण भने केही समयलाई पछि धकेलिएको छ। त्यहाँ पुलको जग खन्ने क्रममा ठूलो चट्टान भेटिएपछि केही माथि ठाउँ सार्नु पर्दा ५/६ महिना काम रोकिएपछि गत वर्ष निर्माण कार्य हुन नसकेको खकुरेलले बताए। अन्तिममा हाल्न लागेको दुईवटा जग खन्ने क्रममा चट्टान भेटिएपछि पहिले हालिसकेका पिल्लरहरु सबै खोलेर अर्को ठाउँ सार्नुपर्दा काम ढिला हुन गएपछि गतवर्षको काम चालु वर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

सिङ्गल स्पामको पुल बन्ने प्राविधिक स्टीमेट रहेको सो ठाउँमा जग खन्ने क्रममा भेटिएको कडा चट्टान फुटाएर अर्को ठाउँ जग राख्नु पर्दा वर्खा लागिहालेको र आर्थिक वर्ष पनि सकिँदै गएपछि काम रोकिएको हो। गतवर्ष काम रोकिएपछि त्यहाँ पुल बनाउन थप वर्षदिन कुर्नुपर्ने अनुमान कार्यालयले गरेको छ। बाँकी पुलहरु लगभग दसैँअघि नै चालु हुने गरी निर्माणको अन्तिम चरणमा पुगेको डिइ खकुरेलले बताए।

‘खैराहाबाहेक खोलाका सबै पुलहरु निर्माणको अन्तिम चरणमा पुगिसकेको छ, असारी र सरस्वती सकिएर गाडी नै चल्न थालिसक्यो’ खकुरेलले भने ‘यत्ति भएपछि अब सदरमुकामदेखि पूर्वतर्फ गाईघाट–बसाहा खण्डका खोलाहरु खैराहाबाहेकमा पुलको समस्या रहेन।’ गाईघाटदेखि पश्चिमतर्पm पनि चालु वर्ष सबै पुलहरु बनिसक्ने उनले बताए।

गाईघाट–कटारी खण्डमा डिपिआर गर्न छुटेका उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाबीचको मौवासी, कटारी ६ मा पर्ने बकपति, लगायत ४ वटामध्ये एउटाको ओभरस्ल्याबसमेत हालिसकेकाले दसैँताका गाडी चल्ने गरी सञ्चालमा आउन लागेको छ। बाँकी ३ पुलमध्ये दुई स्पामको मौवासी खोलामा पिल्लर हालिसकेको अवस्था छ भने अन्य दुई ठाउँमा भने जग खन्नै बाँकी रहेको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App