१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पासपोर्ट धनी नै जाली

काठमाडौं- नेपालबाट मलेसिया पुगेका वास्तविक पासपोर्टधारी केही महिनायता आफ्नै नाउँबाट नयाँ नक्कली पासपोर्ट बनाउने धन्दामा लागेको पाइएको छ। गएका ८ महिनामा मलेसियास्थित नेपाली दूतावासबाट ८ जनामध्ये ७ ले यस्तो काम गरेको राहदानी विभागले जनाएको छ। आफ्नो नाउँबाट जारी गरेको नयाँ नक्कली पासपोर्टधारीहरु भने मलेसियामा नै कार्यरत रहेको देखिएको छ।

जाली पासपोर्ट बोकेर मलेसियाबाट नेपाल फर्किएका केही कामदारहरु त्रिभुवन विमानस्थलमा पक्राउ परेपछि नयाँ किसिमको जाली पासपोर्ट काण्ड प्रकाशमा आएको हो।

गएको महिना नेपाल फर्कनेमध्ये ८ जनाको पासपोर्ट जाली थियो भने ७ जनाले ट्राभल डकुमेन्टमा छेडछाड गरेको पाइएको थियो। त्यसलगत्तै विभागले तिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

अध्यागमन विभागका महानिर्देशक लोकबहादुर थापाले भने, 'हाम्रो तथ्यांकले ती सातै जनाले नयाँ पासपोर्ट जारी गरेको देखायो। तीमध्ये दुईले जन्मस्थानबाट र पाँच जनाले मलेसियास्थित नेपाली दूतावासबाट निकालेको पाइयो।'

जाली पासपोर्टमा व्यक्तिसम्बन्धी जानकारी राम्रोसँग नहुने र सुरक्षाका उपायहरु नहुने थापाले जनाए।

यी घटनापछि 'हराएका पासपोर्ट'को विभागमा नयाँ कुराहरु थपिएको समेत उनले जानकारी दिए। यसअघि हराएका पासपोर्टमा व्यक्तिले नयाँ पासपोर्ट पाएपछि मात्रै जानकारी दिइन्थ्यो भने अब हराएका पासपोर्ट जानकारीमा आउनेबित्तिकै नयाँ पासपोर्ट पाउनुअघि नै सूचनापाटीमा राखिने उनले बताए।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एसएसपी सर्मेन्द्र खनालले नागरिकलाई भने, 'हामीले यो किसिमको नक्कली पासपोर्ट र ट्राभल डकुमेन्टको र्याककेट चलाउनेहरुमाथि विशेष अपरेसन चलाउने तयारीमा छौँ।' अझै पनि वास्तविक पासपोर्टधारीले एजेन्टहरुलाई आफ्नो पासपोर्ट बेचेको वा यही काममा संलग्न भएको पुष्टि नभइसकेको समेत उनले जनाए।

मलेसियामा जाली पासपोर्ट दिई एजेन्टबाट ठगिएका व्यक्तिहरुसँग कुराकानी गर्दा उनीहरुले ८५ हजार रुपैयाँसम्म तिरेको नागरिकलाई बताएका थिए।

प्रकाशित: २० माघ २०७२ २०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App