२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ठगीमा संलग्न महिला पक्राउ

पक्राउ परेकी महिला।

टीकापुर नगरपालिका–९ बाट एक महिला साउन २२ गते ठगीको आरोपमा पक्राउ परेकी छन्। वडाध्यक्ष लौटन चौधरीले दिएको सूचनाका आधारमा ती महिला पक्राउ परेकी हुन्। पक्राउ परेकी महिलाका बारेमा इलाका प्रहरी कार्यालय टीकापुरले सोधपुछ गर्‍याे।

उनले आफ्नो नाम सीमा थारु बताइन्। उनले आफ्नो ठेगाना घोडाघोडी नगरपालिका–२ थापापुर बताइन्। उनका श्रीमानको नाम सरोज वैद्य बताइन्। उनले बुबा सन्तोष थारु र आमा सिवानी चौधरी रहेको बताइन्। उनले आफ्नो माइतीघर कञ्चनपुरको बेतकोट नगरपालिका– ७ लालपुर बताइन्। उनले नेपाल राष्ट्रिय मावि बहुमुखी क्याम्पसमा अध्ययनरत रहेको बताइन्।  

उनले आफ्नो श्रीमान् वैद्य नेपाल प्रहरी भएको बताइन्। उनले श्रीमान हुम्लाको ट्राफिक प्रहरी कार्यालयमा कार्यरत रहेको बताइन्। उनले आफू विगत डेढ वर्षदेखी गुड नेवर्स नामक संस्थामा कार्यरत रहेको बताइन्। बर्दियाको राजापुर नगरपालिका सिँगाईमा रहेकी ठूलीआमाकी छोरी उर्मिला चौधरीमार्फत् संस्थामा आवद्ध भएको बताइन्।

उनले आफ्नो मासिक तलब १० हजार बताइन्। उनले संस्थाको कार्यालय सिँगाईमै रहेको बताइन्। उनका अनुसार सो संस्थाका कार्यालय प्रमुख सन्तोष पाण्डे हुन्। उनको घर बर्दियाको ताराताल हो। प्रहरीले उनले दिएको जानकारी अनुसार खोजी गर्‍याे। उनले दिएका कुनै पनि जानकारी सही भेटिएनन्।

उनले आफ्ना सबै वास्तविक कुरा लुकाइन्। ती महिलाले सबै वास्तविक कुरा लुकाएपछि प्रहरीलाई अनुसन्धानमा निकै कठिनाइ भयो। जसले गर्दा प्रहरी घटनाको गहिराइमा पुग्न सकेन। साँझको बेला उनले टीकापुर नगरपालिकास्थित मुक्त कमैया शिविरमा आफ्नै फुपु बस्ने गरेको बताइन्। उनले फुपुसँग आफ्नो ६ महिनाको बच्चा समेत रहेको बताइन्।

फुपुसँगै बच्चा छोडेर काममा हिँडेको भनेपछि प्रहरी उनलाई गाडीमा राखेर मुक्त कमैया शिविरतर्फ हिड्यो। मुक्त कमैया शिविर पूरै खोज्दा पनि प्रहरीले उनकी फुपुको घर भेटाउन सकेन। प्रहरी फुपुको घर नभेटे पछि फर्किने क्रममा थियो। सोही क्रममा उनको मोबाइलमा कल आयो। उनले आफू प्रहरीसँग रहेको बताउँदै छोटो कुराकानी गरेर कल काटिन्।

प्रहरीले उनको मोबाइल आफूसँग राख्यो। केही समय पछि फेरी कल आयो। प्रहरीले कल रिसिभ गर्‍याे। उताबाट कुनै पुरुषको स्वर सुनियो। उनले आफ्नी श्रीमतीलाई मोबाइल दिन आग्रह गरे। त्यसपछि मात्रै प्रहरीले उनको बारेमा वास्तविक जानकारी पाउन सफल भयो। उनी सीमा थारु नभएर २४ वर्षकी कविता थारु हुन्।

उनको घर बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुर हो। उनको माईतीघर बर्दियाकै गेरुवा गाउँपालिका–६ मा हो। उनका श्रीमानको नाम सुशील चौधरी हो। उनी ज्याला मजदुरी गर्छन्। उनलाई सन्तोष पाण्डे भन्ने व्यक्तिले सबैकुरा झुटो बोल्न लगाएको हो। उनले नै गाउँ-गाउँमा गएर अभिभावकसँग रकम असुल्ने उपाय सिकाएको थियो।

थारु र पाण्डेको भेट २०७८ चैत ७ गते राजापुर नगरपालिका टपराको एक होटलमा भएको थियो। उनीहरुबीच चिनजान भयो। पाण्डेले आफू गुड नेवर्सको हाकिम बताए। उनले नै थारुसँग जागिरको प्रस्ताव राखे। थारुले घरसल्लाह पछि मात्रै जवाफ दिन्छु भनिन्। उनीहरुको दोस्रो भेट २०७९ जेठ २४ गते भयो। पाण्डेले थारुलाई १० हजार रुपैयाँ दिए। उनीहरुबीच आत्मियता बढ्यो।

पाण्डेले नै २०७९ असार ३ गते थारुलाई टीकापुर पुर्‍याए। उनले अभिभावकबाट कसरी पैसा असुल्ने भन्ने बारेमा सिकाए। प्रत्येक विद्यार्थीबाट ५ सय असुल्ने र सो वाफत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने भनियो। विद्यार्थीबाट यसरी असुलेको रकम राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिने र १५ प्रतिशत ब्याज दिइने आश्वासन दिइयो। आर्थिक अवस्था कमजोर भएका अभिभावकले ऋण कर्ज गरेर भएपनि थारुलाई पैसा दिए।

यही अनुसार थारुले टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुल्न थालिन्। उनले २०७९ असार ५ गते टीकापुर नगरपालिका–८ वनगाउँबाट पैसा संकलन सुरु गरिन्। उनले पहिलो दिन संकलन गरेको १२ हजार र २०७९ साउन १९ गते पदमपुरमा संकलन गरेको १५ हजार रुपैयाँ पाण्डेलाई दिएको बताइन्।

प्रहरीका अनुसार उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन्। प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ।

उनले ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए। ‘अझै धेरै व्यक्तिबाट पैसा असुलेको हुनसक्छ’ उनले भने–‘हामी अनुसन्धानको क्रममा छौं।’

यस्तै जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले कार्यालय प्रमुख भनिएका पाण्डेको खोजी गरिरहेको छ। यस्ता अन्य थुप्रै महिलालाई प्रयोग गरेर ग्रामीण क्षेत्रमा ठगी भैरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। ‘हामीलाई यो गिरोह नै हो भन्ने लागेको छ’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘हामी जरैसम्म पुग्ने प्रयास गरिरहेका छौं।’

गुड नेवर्सका कैलाली/बर्दिया इञ्चार्ज रञ्जित चौधरीले घटनामा संलग्न महिला आफ्नो संस्थासँग आवद्ध नरहेको बताए। उनले ती महिलाले भने जस्तो कुनै कार्यक्रम नरहेको जानकारी दिए। वडाध्यक्ष चौधरीले यस्ता व्यक्तिहरुबाट सचेत रहन आग्रह गरेका छन्। उनले विभिन्न संस्थाका नाममा आउने व्यक्तिहरुका बारेमा सोधीखोजी गरेर शंका लागे खबर गर्न भनेका छन्।

प्रकाशित: २६ श्रावण २०७९ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App