८ वैशाख २०८१ शनिबार
समाज

बाढी होइन,सरकार बेइमानी

अविरल वर्षाका कारण आएको बाढीले भक्तपुुर मनोहरा सुकुमबासी बस्तीका नारायणप्रसाद मैनालीले मंगलबार कम्मर–कम्मर पानीमै रात बिताए। दुई सन्तानसहित सानो टहरामा बस्दै आएका मैनालीले त्यति बेला ‘बाँच्छु’ भन्ने आशासमेत हराएको सुनाए।

‘मनोहरा खोलाले तीनतिरबाट घेरेर टापुजस्तो बनाएको थियो,’ मैनालीले भने, ‘न हामी भागेर कतै जान सक्थ्यौं, न कसैले उद्धार गर्न सक्थे।’ करिब १ किलोमिटर नदीकिनारमा जाली–ढुंगा नलगाएकाले झन्डै ८ सय घर डुबानमा परेको उनले बताए।

‘हामीले यस विषयमा वडा कार्यालयदेखि सिंहदरबारसम्म सबैतिर आवाज पुर्‍यायौं,’ छोरीका भिजेका किताब देखाउँदै उनले भने, ‘बस्ती व्यवस्थापनमा सरोकारवालाको ध्यान नपुग्दा जीवन जोखिममा परेको छ।’ सोही बस्तीका तिलक बिके पनि मैनालीको कुरासँग सहमत छन्। बाढी आउँछ भन्ने थाहा हुँदाहुँदै पनि बचाउका लागि अग्रिम पहल नहुनु दुःखदायी भएको उनले बताए। ‘बाढी होइन, सरकार बेइमानी हो,’ उनले भने, ‘झन्डै दुई दशकदेखिको अव्यविस्थत बस्तीको व्यवस्थापनमा ध्यान नदिँदा समस्या आयो।’

सुकुमबासी बस्ती भएकाले कसैले पनि ध्यान नदिएको उनी सुनाउँछन्। ‘चुनावको बेला सबैलाई हामी नै चाहिन्छ,’ उनी भन्छन्, ‘जब चुनाव सकिन्छ, तब हामीले कसैको पनि साथ पाउँदैनौं।’ रोजीरोटीको खोजीमा राजधानी आएका श्रमिकले बसोबास गरेको थलो भन्दै बाँच्ने अधिकार सबैको भएको उनले सुनाए।

‘अरू कुरा पछि होला तर बाँच्न त पर्‍यो नि,’ उनी भन्छन्, ‘सरकारले अब बाढी आउनुअगावै किनारमा जाली–ढुंगा राख्छ भन्ने आशा गरेका छौं।’

लामो समयदेखि यहाँ रहँदै आएका विकेले यस्तो बाढी यसअघि कहिल्यै नदेखेको सुनाए। ‘त्यसो त हरेक वर्ष खोलाबाट सामान्य भेल त आउँथ्यो,’ उनले भने, ‘यस पटक सिंगै खोलाले बस्तीलाई घेर्‍यो ।’ खोलाको भेल घरभित्र छिरेपछि सबै कुरा नष्ट भएको उनले सुनाए। ‘नानीहरूका पढ्ने किताबदेखि खाने चामल सबै भिजेर नोक्सान भएको छ,’ उनले भने, ‘अब त आकाशमा बादल देख्नेबित्तिकै डर लाग्न थालेको छ।’ राति १२ बजेदेखि मध्यपुर थिमि नगरपालिका–१ मनोहरा खोलाकिनारमा रहेका सुकुमबासी बस्तीका करिब ९ सय घर डुबानमा परेका थिए। १२ बजेदेखि बाढी बढ्न सुरु भएर १ बजेसम्ममा घरमा पानी छिरिसकेको थियो। घरमा पानी छिरेलगत्तै मध्यराति बस्तीमा ज्यान जोगाउन भागदौड मच्चिएको विना लिम्बुले बताइन्। ‘रातभर यस क्षेत्रको अवस्था निकै डरलाग्दो थियो,’ लिम्बुले भनिन्, ‘कोही घरभित्रै थुनिएका थिए त कोही नानीबाबु काखीमा च्यापेर भागेका थिए।’

रातमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटियोे तर बाढीको भेलका कारण केही समय उनीहरू पनि बस्तीमा पुग्न सकेका थिएनन्। डुबानले घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको लिम्बुले सुनाइन्। चिसो र हिलोले बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन्।

त्यस्तै सोही रात मनोहरा खोलामा आएको बाढीले कागेश्वरी मनोहरा–७ स्थित केही उद्योगमा समेत क्षति पुर्‍याएको छ। खोलाकिनारमा रहेका डाइङ मेसिनका टहरा भत्काउँदा लाखौंको क्षति पुगेको प्रहरीले जनाएको छ।

यसैगरी मंगलबार रातिको वर्षाले राजधानीका अन्य खोलामा पनि बाढी आएको छ । बाढीका कारण कतिपय क्षेत्रका घरटहरामा क्षति पुर्‍याएको छ ।

प्रकाशित: २६ श्रावण २०७९ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App