३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ट्राफिक नियम मिच्नेमा मोटरसाइकल चालक सबैभन्दा बढी

इलामको ट्याक्सी स्टेन्ड। तस्बिर: भीम/नागरिक

जिल्लामा मोटरसाइकल चालकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ट्राफिक नियमविपरीत कुदाइएका मोटरसाइकलबाट नै सबैभन्दा बढी राजस्व संकलन गरेको पनि देखिएको छ।  

ट्राफिक प्रहरीका अनुसार त्यो वर्ष नियमविपरीत कुदाइएका ३ हजार ८ सय ९३ मोटरसाइकलबाट २२ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मेची राजमार्ग र सडकहरूमा गरिएको चेकजाँचक्रममा नियमविपरीत गुडेका मोटरसाइकल फेला पारी कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिनियर सई शैलेन्द्र गच्छदारले बताए। गतवर्षको साउनदेखि असारसम्म मोटरसाइकलबाट एकै महिनाभित्रमा झन्डै अढाई लाख रुपैयाँसम्म संकलन गरिएको उनले जनाए।

ट्राफिक नियम उल्लंघन गर्ने दोस्रो लहरमा कार/जिप छन्। त्यो आर्थिक वर्ष कार/जिपलाई ३ हजार २ सय ३७ पटक कारबाही गरी १८ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।  

त्यस वर्ष ट्राफिक प्रहरीले नियमविपरीत कुटाइएका सबैखाले सवारी साधनबाट साढे ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। ८ हजार ८ सय ८७ पटक कारबाही गरी ५१ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कारबाही गरिएका सवारी साधनमध्ये टेम्पोबाट ३ लाख ५ सय, ट्र्याक्टरबाट २ लाख १९ हजार ५ सय र बसबाट १ लाख ४१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक प्रहरीको तथ्यांक छ।  

ट्राफिक प्रहरीका अनुसार गत आवमा जिल्लामा ४३ सवारी साधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो भने ३५ जना गम्भीर घाइते भएका थिए।  

जिल्लामा ट्राफिक प्रहरीको चाहिँ अभाव रहेको कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रमुख गच्छदारले इलामभित्रमा पर्ने मेची राजमार्ग (करिब ९० किलोमिटर) मा अहिले १९ जना ट्राफिक प्रहरीले सेवा दिइरहेको बताए। ‘हामीलाई ड्युुटी गर्ने ट्राफिक प्रहरीको संख्या अपुग,’ उनले भने, ‘भएको जनशक्तिले जसोतसो काम चलाउनुपरेको छ।’

प्रकाशित: २२ श्रावण २०७९ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App