१७ आश्विन २०७९ सोमबार
समाज

सुरु भयो बडीमालिका तीर्थयात्रा

बडिमालिका माईको दर्शन गर्नजादै तीर्थयात्रामा भक्तालुजनहरु तस्विरः ललित बिष्ट नागरिक कालिकोट।

कालिकोट र बाजुराको सिमामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ। शनिबार कालिकोटबाट सुनको गजुरसहित पुजारी र सरकारीटोलीले बडीमालिकाको तीर्थयात्रा तय गरेका हुन्। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। यस वर्ष बडीमालिकामा श्रावण २६ गते मुख्यपूजा लाग्ने भएको छ।

प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू,सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन्। बडीमालीका मन्दिर समुद्रीसतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ।  

त्यँहा पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ। औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम,डोटी,जुम्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी र्शमाले बताए।

बाजुराको बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ। प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ।  

बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन्। यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।

बडिमालिका क्षेत्रमा २२ वटा हरियाली फाँटहरु,दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमूल्य जडिबुटिहरु,आश्चार्यजनक पौराणिक स्थहरु,हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। बडीमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।  

मुगु,जुम्ला,हुम्ला,कालिकोट,डोल्पा,दैलेख,जाजरकोट,बाजुरा,अछाम लगायत जिल्लाबाट धामी झाँक्री र तीर्थालुको घुइँचो लाग्ने गरेको छ। मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन्।  

बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्। बडीमालीकाको सौन्दर्य भनेकै पाटनका रंगीविरंगी फूलहरू कुहिरोका थुम्काहरु र विशाल फाँटहरू हुन्। तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको स्थानियको गुनासो छ।  

बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ। बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो,त्यति हुन सकेको छैन। बडिमालिकामा प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। त्यो समयमा केही स्थानीय व्यापारीहरूले पसल राख्ने गर्छन्। अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन्।  

मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ।  

आफुलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सरसमानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भञ्ज्याङहरू पार गरेर यहाँ पुग्न धेरै चुनौती रहेको कालिकोटका पूजारी हरिकृष्ण धमलाले बताए।

अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरू र २२ पाटन (हरिया फाँट)हरूमा चर्दै गरेका भेडा,बाख्रा,भैंसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ। त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ यती हुँदाहुँदै पनि यो ठाउँ पर्यटकिय केन्द्र विन्दु बन्न सकिरहेको छैन्। यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक रहेको कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी (महेश)ले बताए।

प्रकाशित: २२ श्रावण २०७९ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App