२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मत तान्ने अस्त्र ‘गाली’

फाइल तस्बिर

केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्। आफ्नो नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनबाट ‘अब्बल’ दलका रुपमा स्थापित गर्ने योजनामा रहेका रविको एकमात्रै लक्ष्य सुनिन्छ ‘सिंहदरबारको नेतृत्व अब राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा ।’

जिल्ला दौडाहमा रहेका रविले सत्ताको नेतृत्व हत्याउने प्रमुख एजेण्डा पुरा हुने आधार पुराना दलहरुको ‘अक्षमता’लाई नै प्रमुख मानेका छन्। शुक्रबार आफ्नो दलको संगठन निर्माण गर्न दाङ आइपुगेका रविले आफ्नो दलीय सिद्धान्तको प्रसार गरेनन् । केबल पुराना दलहरुको खेदो खनेर आफ्नो दललाई अब्बल दलका रुपमा उभ्याउने चर्चा गरे।  

घोराहीमा भएको कार्यक्रममा रविले आफ्नो दलीय सिद्धान्तको प्रसारलाई भन्दा मत तान्नका लागि अन्य दलहरुको कमजोरी औँल्याउनु पर्छ भन्ने मानसिकतालाई उजागर गरे। ‘वर्षौँ सम्म सत्ताको रजगजमा रहेका दलहरुले के गरे?’ उनले कार्यक्रममा भने ‘यस्ता गद्धार ब्यक्ति अनि दलहरुको विकल्पमा हामी उभिएका हौँ, हामी सिंहदरबारको नेतृत्वमा पुग्नै पर्छ।’  

घोराहीमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको पार्टीको प्रशिक्षणका लागि दाङ आइपुगेका एमालेका उपाध्यक्ष सुबास नेम्वाङ शनिबार पत्रकार सम्मेलनमा सहभागी भए। प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका उनले पनि सत्तारुढ दलहरुको खेदो खनेर औपचारीक कार्यक्रमको सहभागीता पुरा गरे।  

आफूहरुको दबाबका कारण अहिले सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेको दाबी गरेका नेम्वाङले सरकार निर्वाचन गराउने योजनामा रहेको बताए। ‘सरकार तथा यसमा सहभागी दलहरु निर्वाचन गराउने पक्षमा थिएनन्,’ उनले भने, ‘हाम्रो धेरै दबाब पछि अहिले सरकारले निर्वाचनको मिति घोषणा गर्न बाध्य भयो।’ अर्थमन्त्री जनार्दन शर्माको कदम र सरकारले गरेको छानविन,गर्भनर प्रकरण बारे एमाले माथि गरिएका प्रश्न लगाएतका विषयलाई उठान गरेका उनले उक्त कार्यक्रम अवधिभर नै सत्तापक्षीय दलहरुको आलोचना गरे।  

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने र एमालेका उपाध्यक्ष नेम्वाङ मात्रै हैनन्, बिपक्षी दलहरुलाई गाली गरेर मात्रै मतदाता समक्ष बलियो दलका रुपमा स्थापित बन्न सकिन्छ भन्ने मानसिकतामा हरेक दलहरु रहेका देखिन्छन्। फलतः दलीय एजेण्डा वा सिद्धान्तलाई मतदाता समक्ष बिकाउनुलाई गौण मान्दै आएका दल र तिनका नेताहरुले चुनाव जित्ने अस्त्र भनेकै गालीलाई मात्रै मान्दै आएको देखिन्छ।

गत स्थानीय तहको निर्वाचनको मुखैमा नेपाली कांग्रेसले एमसीसी प्रकरणको मुद्धालाई गाउँ तहसम्म पुर्यायो। यसको ‘फाईदा’ सुनाउन गाउँ पसेको कांग्रेसले त्यो बेला एमालेलाई पनि एमसीसी प्रकरणमा चोखिने बाटो दिएन। उसले एमसीसी प्रकरणमा एमालेको पनि हात रहेको भन्दै एमसीसी प्रकरणले भड्किएको मासलाई एमालेले सहजै ‘क्यास’ गर्न सक्ने बाटो छेक्ने भरपुर प्रयास गरेको थियो।  

प्रतिनिधिसभा बिघटन गरेको तत्कालीन एमाले नेतृत्वको सरकारको कदमलाई प्रमुख चुनावी मुद्धा बनाएको कांग्रेसले एमालेलाई मतदाता सामु संविधान बिरोधी दलका रुपमा उभ्याउन खोजेको थियो । तर कांग्रेसको सिद्धान्त एजेण्डालाई भने कांग्रेसले मतदाता सामु बिकाउने प्रयासै गरेन।  

यसैगरि कांग्रेससँग सत्ता सहकार्यमा रहेको माओवादी केन्द्रले पनि एमालेलाई कमजोर पार्ने रणनीति गालीलाई नै बनाएको देखियो। नेकपा खारेजी पछि एमालेसँग अलग्गीएको माओवादीको रोष एमाले माथि झनै थियो नै। फलतः माओवादीका लागि पनि आफ्नो दलगत सिद्धान्त भन्दा पनि चुनावी एजेण्डा गाली नै बनेको थियो। उक्त चुनावमा पनि एमालेले आफ्नो प्रमुख दलीय एजेण्डा सत्तापक्षीय दलहरु माथिको गालीलाई नै बनाएको थियो।  

गत स्थानीय तहको निर्वाचनमा मात्रै हैन, विगतका हरेक निर्वाचनमा दलहरुको मत तान्ने बलियो अस्त्र भनेकै विपक्षीमाथिको गाली बन्दै आएको यो दलीय संस्कृति आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि कायम हुने पक्का छ नै। मंसिर ४ का लागि निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा अब दलहरुका चुनावी रणनीति ‘गाली केन्द्रीत’ बन्न थालिसकेका छन्।

राजनीति शास्त्रका जानकारहरुका अनुसार आफू चोखो बने मात्रै चुनाव जितिन्छ भन्ने मानसिकतामा दलहरु दृढ बन्ने गरेका छन्। दलीय एजेण्डाको ‘दम’ लाई मतदाताले पत्याउने संस्कार हराईसकेको भन्दै महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन् ‘मैले यसो गर्छु वा मेरोे दलले यसो गर्छ भनेर मतदातालाई सुनाउँदा अब मतदाताले पत्याउदैनन् भन्नेमा दल र तिनका नेताहरु ढुक्क भैसकेका छन्।’  

वर्तमान राजनीतिक प्रणालीबाट मतदाताहरु सन्तुष्ट नरहेको भन्दै गौतमले मतदाताहरुले राजनीतिबाट पाउनु पर्ने सेवा सुविधा प्राप्त हुन्छ भन्ने मानसिकताबाट टाढिईसकेका छन्। यस्तो बेलामा दल र दलका नेताहरुले दलीय एजेण्डा मतदाता समक्ष फ्याँक्नुलाई निरर्थक मान्नु पर्ने अवस्था छ। अनि बिग्रिएको जति सबै कारण अरुलाई थोपरेर आफूलाई चोखो बन्नु नै दलहरुका लागि अन्तिम विकल्प बन्ने गर्दछ। ‘दलीय एजेण्डालाई अब मतदाताहरुले विश्वास गर्दैनन् भन्नेमा दलहरु ढुक्क छन्,’ गौतमले भने ‘यस्तो बेलामा बिग्रिएको जति दोष अरुलाई थोपरेर आफू चोखो बन्न सकियो भने नै चुनावी नतिजा आफ्नो पोल्टामा पर्छ भन्ने अन्तिम बिकल्पनै दलहरुका लागि बन्छ।’ अनि राम्रो कामको जस आफूले मात्रै लिन खोज्ने र बिग्रेको जति कामको दोषारोपण विपक्षीलाई गर्ने संस्कार नेपाली राजनीतिमा निरन्तर चल्दै आइरहेको उनको भनाइ छ । 

प्रकाशित: २२ श्रावण २०७९ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App