coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप गर्न सिफारिस गरिने

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ। फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा १–१ वटा मतदानस्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको जिल्ला  निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। 

उनका अनुसार फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित शिव आधारभूत विद्यालयमा ९ सय ७१ मतदाता कायम हुने गरी नयाँ मतदानस्थल सिफारिस गरिने छ। यसअघि जनता मावि हाङ्देवा मतदानस्थल मात्र रहेकोमा अब हाङ्देवा भित्रै दुईवटा मतदानस्थल कायम गर्न सिफारिस गरिने भएको हो। शिव आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम भए अहिलेकै मतदाताका आधारमा जनता मावि मतदान स्थलमा १ हजार ७ सय १२ मतदाता रहने छन्। जनता मावि मतदान स्थलमा ३ वटा मतदान केन्द्र थिए। 

यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङस्थित सिम्बुक आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरिने भएको छ। अहिलेकै मतदाताका आधारमा सिम्बुक आधारभूत विद्यालयमा २ सय ५३ मतदाता रहने गरी नयाँ मतदान स्थल थप गर्न सिफारिस गर्न लागिएको हो। सिम्बुकमा नयाँ मतदानस्थल कायम भए राजेश्वरी आधारभूत विद्यालय पापुङमा भने ९ सय ६५ मतदाता रहने छन्। यस्तै फक्ताङलुङ गाउँपालिकाका ४ वटा मतदानस्थलको नाममा भएको त्रुटी सच्याउन सिफारिस गरिने निर्णय भएको छ। कायम रहेका मतदानस्थलका नाममा आधारभूत विद्यालय हुनुपर्नेमा माध्यमिक र माध्यमिक विद्यालय हुनुपर्नेमा आधारभूत विद्यालय हुनगएकोले सम्वन्धित विद्यालयको नाम यकिन गरी त्रुटी सच्याउन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

अहिले ताप्लेजुङमा ७३ मतदानस्थल र १ सय २२ मतदान केन्द्र रहेका छन्। मतदानस्थल टाढा भएकोले अपायक पर्ने,जनसंख्या र भूगोलका कारण मतदानस्थल थप गर्नुपर्ने,मतदानस्थल पुगेर फर्किन दुईदिन सम्म लाग्ने अवस्थाले रहेको औंल्याउँदै गत साउन १० गते बसेको सर्वदलीय संयन्त्रको बैठकले साउन १८ को दलिय संयन्त्र बैठक मार्फत नयाँ मतदानस्थल सिफारिसबारे निर्णय लिने बताएको थियो। सम्वन्धित वडाले मतदाता छुट्याई सर्वसम्मत रुपमा पालिकामा सिफारिस गर्ने र पालिकाले साउन १५ गते भित्र जिल्ला निर्वाचन कार्यालयमा प्रमाणितप्रति पठाउने अवस्थामा ताप्लेजुङमा ६ वटा मतदानस्थल थप्न सिफारिस गर्ने योजना बनेकोमा त्यो कार्य फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाले पूरा गरेका छन्। दलीय संयन्त्रले गरेको निर्णय अनुसार अब मतदानस्थल थप र त्रुटी सच्याउने कार्यको सिफारिस हुने छ। सिफारिस अवधि साउन २० गते सम्म रहेको छ। 

प्रकाशित: १८ श्रावण २०७९ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App