४ वैशाख २०८१ मंगलबार
समाज

सप्तकोसीको बाँध फुटेपछि उदयपुर बेलका नगरवासी त्रसित

बेलकामा कोसीको भँगालो रोक्न बाँध बाँध्दै सुरक्षाकर्मी।

केही दिनयताको निरन्तर वर्षाले सप्तकोसी नदीको पुरानो बाँध फुटेर बस्तीतर्फ बाढी पसेपछि उदयपुरको बेलका नगरवासी विस्थापनको गम्भीर खतरामा परेका छन्।

०४४ सालमा बाँधिएको कोसी पश्चिमतर्फ बेलका ८ डुम्रीबोटेस्थित लाउरीखोँचको बाँध बाढीले भत्काएर बस्तीतर्फ पसेपछि ठूलो संख्यामा घरपरिवार जोखिममा परेका हुन्। बेलका नगरप्रमुख अशोक कार्कीका अनुसार मंगलबार बिहान ४ बजे कोसीले बाँध फुटाएर बस्ती छिरेपछि डुम्रीबोटे र सिसौलीघाट आसपास डुबान र कटान सुरु भएको छ।

कोसी बस्ती पसेको खबर पाएलगत्तै सशस्त्र प्रहरी, जनपथ र नगर विपत व्यवस्थापन समितिका सरोकारवालासहित बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा जुटिरहेको उनले बताए। ‘बाँध भत्काएर कोसी बस्ती छिरेपछि सिशौलीघाट टप्पुमा परिणत भएको छ, म अहिले डुंगा चढेर यही आएको छु’ मेयर कार्कीले भने ‘वडा नं. ८ को सबभन्दा बढी जोखिम सिसौलीघाटलाई भएको छ, यहाँ डेढसय घरधुरीभन्दा बढी जोखिममा परेका छन्।’

८ नं. वडाध्यक्ष जयकुमार राईले डुम्रीबोट र सिशौलीघाटका बाढी पीडितलाई  तत्काल सुरक्षितस्थानमा ल्याएर राख्ने काम भइरहेको बताए। जोखिममा परेका डेढसय घरधुरीका झण्डै १ हजार ५ सय जनालाई विद्यालय र सार्वजनिक भवनहरुमा ल्याएर राखिएको वडाध्यक्ष राईले बताए। तत्काललाई डुबान र कटानबाट जनधनको क्षति हुन नदिने प्रयासमा रहेको भन्दै उनले थप समाधान पछि खोजिने बताए।

कोसीको बाढीले पुरानो बाँध र गतवर्ष मात्र भारत सरकारले बाँधेको २ सय मिटर लामो त्रिखुट्टी बाँध भत्काएर बाढी बस्तीतर्फ पसेको हो। मेयर कार्कीले बताए अनुसार  दुईवटै बाँध फुटाएर बाढी बस्तीतर्फ पसेपछि ८ सँगै ९, ३, २ नं. वडाबासीलाई पनि उच्च जोखिममा पारेको उनको भनाइ छ। ८ को सिशौलीघाट टोल विकास संस्थामा आवद्ध डेढसय परिवार जोखिममा पर्दा ३ नंं को भातेपुलक्षेत्र थप बढी जोखिममा छ।

३ नं. वडाध्यक्ष टंकप्रसाद आचार्यले भातेपुलक्षेत्र र आसपासमा मात्र ७ वटा टोल विकास संस्थामा आवद्ध बस्तीहरु सबै डुबानमा परेको बताए। उनका अनुसार ती टोल विकास संस्थामा आवद्ध ९ सय घरधुरीका ३ हजार ७ सय जनसंख्यामध्ये ७० प्रतिशतलाई सुरक्षित स्थानमा सारिसकिएको छ। ट्याक्टर, ट्रक, बसमार्फत् अघिल्लो दिन साँझदेखि रातिसम्म ओसार्दै अग्लो र पानी नजम्ने उच्च ठाउँहरु रामपुर, सातपत्रेलगायत क्षेत्रका विद्यालय, सार्वजनिक भवन र खाली घरहरुमा सुरक्षित गरिएको उनले बताए।

बाँकीलाई सुरक्षित गर्न बिहान रबर बोट पठाएर ओसार्ने काम भइरहेको आचार्यको भनाइ छ। मेयर कार्कीले गएको जेठ असारदेखि नै सम्भावित बाढीको जोखिमबाट बँच्न प्रयास गर्दागर्दै बिपत्ले गाँजेरै छाडेको बताए। असार पहिलो साता मात्र बाढी बढेसँगै सम्भावित डुबान र कटानबाट बँच्न प्रदेश र संघीय सरकारलाई गुहारेको तर, सुरक्षित गर्न योजना बनाउँदा बनाउँदै बाँध भत्काएरै छाडेपछि समस्या गम्भीर बन्न पुगेको उनको भनाइ छ।

अहिलेलाई मानवीय र सम्पत्ति क्षति गर्न नदिने भन्नेमै केन्द्रित भइरहेको मेयर कार्कीले बताए। ‘अहिलेको प्रमुख समस्या मानवीय क्षति र उनीहरुको सम्पत्तिको कसरी रक्षा गर्ने हो भन्नेमा केन्द्रित छौँ’ मेयर कार्कीले भने ‘ज्यान बाँचेपछि अरु समस्याबारे दीर्घकालीन योजना बनाएर अघि बढ्छौँ।’

बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र र सुरक्षा निकायका प्रमुखहरु पनि पुगेर स्थलगत अनुगमन गर्दै उद्धार कार्यमा जुट्न विपत व्यवस्थापन गर्न लागेका छन्। स्थलगत अनुगमनपछि विपत व्यवस्थापन समितिको बैठक राखेर भावी योजना बनाउने नगर उपप्रमुख जिरा राईले बताएकी छिन्।

प्रकाशित: १८ श्रावण २०७९ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App