६ वैशाख २०८१ बिहीबार
समाज

विभिन्न भागमा बाढी र पहिरो

बेनी–जोमसोम खण्डको घोप्टेभीरमा झरेको पहिरो। पहिरोले मुस्ताङसँगको सम्पर्क टुटाएको छ।

केही दिन यता परेको अविरल वर्षाले पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही जिल्लासँगको यातायात सम्पर्क टुटेको छ। खोलामा आएको बाढीले बगाएर तीन जनाको निधन भएको छ। सडक सञ्जाल विच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुले सास्ती पाएका छन्।

पोखरा संवाददाताका अनुसार पहिरोले सडक अवरुद्ध हुँदा गण्डकी प्रदेशभित्रका चारवटा जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकका अनुसार दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङसँगको सडक सञ्जाल विच्छेद भएको छ। त्यस्तै लम्जुङ सदरमुकाम बेसीसहर पनि सडक सञ्जालबाट विच्छेद भएको छ। अर्काे जिल्ला गोरखासँग पनि मुख्य राजमार्गको सडक सम्पर्क टुटेको छ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घोप्टेभीरमा पहिरो खस्दा सिंगो मुस्ताङसँगको सडक सम्पर्क विच्छेद भएको छ। त्यस्तै लम्जुङको बेसीसहर–मनाङ सडक सम्पर्क पनि विच्छेद भएको छ। मनाङ जानका लागि बेसीसहर हुँदै जानुपर्छ। त्यस्तै डुम्रे–बेसीसहर सडक सञ्जाल विच्छेद हुँदा लम्जुङसँगको सञ्जाल पनि विच्छेद भएको छ।

डिएसपी विकका अनुसार आँबुखैरेनी–गोरखा सडकअन्तर्गत गोरखा नगरपालिका १३ को मझुवामा पहिरो खसेको छ। त्यस्तै बेसीसहर–चामेअन्तर्गत पनि चासों गाउँपालिका ३, निगालाघारी र चामे गाउँपालिका १ तिमाङमा पहिरो झरेको छ।

गोरखाको मझुवामा पहिरो खस्दा गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनीतर्फ जाँदै गरेका सवारी साधन बीचमै रोकिएका छन्। सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।

मुस्ताङ जोड्ने एक मात्र सडक दुुई दिनदेखि अवरुद्ध छ। मुस्ताङका प्रहरी प्रवक्ता इन्स्पेक्टर गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टेभीरमा भीषण पहिरो झरेको छ। सोमबार पहिरो खसेपछि रोकिएको सडक तत्काल खुल्ने अवस्था नरहेको सुवेदीले जानकारी दिए। ‘भीषण पहिरो खसेको छ। माथिबाट निरन्तर रूपमा ढुंगामाटो खसिरहेकाले तल सडक खुलाउन पनि त्रास छ’, सुवेदीले भने, ‘बाटो खुलाउन अझै केही दिन लाग्ने अनुमान छ।’

घोप्टेभीरमा हरेक वर्षजसो पहिरो खस्ने गर्छ। यसपटक भने अझै ठूलो आकारको पहिरो खसेको उनले बताए। पहिरो खसेको ठाउँ म्याग्दी र मुस्ताङको सिमानानजिक पर्छ। सडक अवरुद्ध भएपछि मुस्ताङ पूर्ण रूपमा स्थलमार्गबाट सम्पर्क विच्छेद भएको छ। पोखरा–जोमसोम हवाई मार्ग पनि लामो समयदेखि बन्द हुँदा मुस्ताङ सबैखाले यातायातका साधनबाट विच्छेद भएको छ।

त्यस्तै कास्कीका भित्री सडक पनि पहिरोले अवरुद्ध भएका छन्। कास्कीको रूपा गाउँपालिका १ गैरीपोखरी हुँदै बेगनास–भोर्लेटार जोड्ने पक्की भित्री सडक खण्डमा पहिरो खसेको छ। अन्नपूर्ण गाउँपालिका ७ विरेठाटीस्थित नयाँ पुल–घान्द्रुक–उल्लेरी सडक पनि पहिरोले अवरुद्ध छ।

हवाई उडान अवरुद्ध

वर्षापछि भिजिबिलिटी नपुग्दा पोखरा विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने सबै हवाई उडान अवरुद्ध भएका छन्। मंगलबारका सबै उडान रद्ध भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए। सुवेदीका अनुसार बुद्ध एयरलाइन्सले काठमाडौंका लागि नौ, भैरहवा र भरतपुरका १–१ गरी ११ वटा उडान राखेकोमा ती सबै रद्ध भएका छन्। त्यस्तै यती एयरलाइन्सका पनि पोखरा–काठमाडौंका ६ वटा उडान रहेकोमा सबै रद्ध भएको सुवेदीले बताए।

‘दिनभर विमानस्थल खुलेन। वर्षा र कुहिरोले भिजिबिलिटी नै पुगेन’, सुवेदीले भने, ‘पोखरा विमानस्थलको मंगलबार दिउँसोको भिजिबिलिटी जम्मा ३५ सय मिटर थियो। पाँच हजार मिटर भिजिबिलिटीमा मात्र उडान र अवतरण गराइन्छ।’ मौसम खुल्ने अवस्था नदेखेपछि दिउँसो साढे तीन बजेअघि नै सबै उडान रद्ध भइसकेका थिए। उडान अवरुद्ध भएको र स्थलमार्ग पनि निश्चित नहुँदा आउजाउ प्रभावित भएको प्रहरीले बताएको छ। राजमार्गमा पहिरो जाँदा यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

गोरखा संवादाता नरहरि सापकोटाका अनुसार चुमनुब्री गाउँपालिका ६ को लोक्पामा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। वर्षासँगै पहिरो जाँदा एक सातादेखि पैदलमार्ग अवरुद्ध भएको वडाध्यक्ष सरोज लामाले बताए। चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन। मानिस पैदल हिँड्नुपर्छ भने खच्चडबाट खाद्यान्न, निर्माण सामग्री ढुवानी गरिन्छ। ‘एक हप्तादेखि खच्चड आउन सकेको छैन, मान्छे हिँड्ने बाटो पनि छैन’, उनले भने, ‘पहिरोकै कारण म १० गतेदेखि वडा कार्यालय जान पनि सकेको छैन।’

पहिरोका कारण वडा नम्बर ६ र ७ का स्थानीय गाउँपालिका कार्यालय, गोरखा सदरमुकामतर्फ आउजाउ गर्न सकेका छैनन्। ‘कोहीकोही जोखिम मोलेर पहिरो चढ्दै गएका छन्’, उनले भने। ‘तत्काल बैकल्पिक बाटो खोल्ने अवस्था छैन। लगातार पहिरो खसिरहेकाले वर्षा रोकिएपछि खुलाउने योजना छ’, वडाध्यक्ष लामाले भने, ‘ढुंगा झरिरहेकाले काम गर्न समस्या छ।’ गत वर्ष पनि सोही ठाउँमा पहिरो जाँदा पैदल बाटो अवरुद्ध भएको थियो।

यसैबीच चुमनुब्री गाउँपालिका ७ को छुले खोला बढ्दा दुई गाउँ जोड्ने फट्के बगाएको छ। छुले गाउँको बीच भएर बग्ने छुले खोलामा आएको बाढीले फट्के भत्काउँदा आउजाउ बन्द भएको स्थानीय ङवाङ लामाले बताए।

कपिलवस्तु संवाददाता किरणमान बज्राचार्यका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलाले बिहान साढे १० बजेतिर एक दम्पतीलाई खोला तर्ने क्रममा बगाएको छ। वडा नम्बर ९ का ३६ वर्षीय दिलकुमार सुनार र उनकी श्रीमती ३१ वर्षीया राममाया सुनार बेपत्ता भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

सँगै खोला तर्नेक्रममा उनीहरूका छोरा १२ वर्षीय निरज सुनारलाई भने स्थानीयले उद्धार गरेका थिए। बेपत्ता दम्पतीको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५० जना परिचालन भएका थिए। टोलीले खोजी गर्नेक्रममा राममायाको शव फेला पारेको प्रहरी उपरीक्षक शाहले बताए। शाहका अनुसार बेपत्ता दिल कुमारको खोजी कार्य जारी छ।

उदयपुर संवादाता महेश्वर चामलिङ राईका अनुसार त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको निधन भएको छ। त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईको घटनास्थलमै निधन भएको हो। सोमबार साँझ खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईको निधन भएको प्रहरीले बताएको छ।  

प्रकाशित: १८ श्रावण २०७९ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App