२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सरकार र गणेश नेपालीका परिवारबीच ९ बुँदे सहमति

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमति भएसँगै विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रोकिएको मृतक नेपालीको शवको पोस्टमार्टम र बुझ्ने प्रक्रिया अघि बढाउन पीडित परिवार तयार भएको छ।

सहमति पत्र अनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष पेस गर्ने सहमति भएको छ।

यसैगरी, मृतक नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास र छानबिन समितिको सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।

घटना भएको दिन फिल्डको अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेल तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ।

महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्नेछ।

साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च महानगरपालिकाले व्यहोर्नेछ र आवश्यक समन्वय नेपाल सरकारका सम्बन्धित निकायले गर्नेछन्।

यसैगरी, महानगरले आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण व्यवस्थापन र खर्च व्यहोर्ने सहमति भएको छ।

मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइनेछ। सहमति पत्रमा सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी पौडेल र महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।

पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन्।

मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भई काठमाडौंमा राइड सेयरिङको काम गर्दै आएका नेपालीले असार २५ गते नगर प्रहरीसँगको पार्किङ विवाद र ‘ह्वील लक’ को विषयलाई लिएर शरीरमा पेट्रोल खन्याई आत्मदाह प्रयास गरेका थिए।

गम्भीर घाइते भएका उनको असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित: २८ असार २०८३ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App