१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेशः चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद

पोखराबाट हुने हवाई उडान पनि अवरुद्ध

बेनी–जोमसोम खण्डको घोप्टेभीरमा झरेको पहिरो। पहिरोले मुस्ताङसँगको सम्पर्क टुटाएको छ। तस्बिरः नागरिक

अविरल वर्षापछिको पहिरोले राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लासँगको सडक सम्पर्क टुटेको छ। पहिरोले गर्दा कतिपय जिल्लासँगको पूरै सम्पर्क टुटेको छ भने केहीसँग आंशिक रुपमा मात्र बिच्छेद भएको छ। सडक सञ्जाल बिच्छेद हुँदा स्थलमार्ग हुँदै आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ। त्यस्तै पोखराबाट विभिन्न गन्तव्यमा हुने हवाई उडान पनि पुरै अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा गण्डकी प्रदेशभित्रका विभिन्न चारवटा जिल्लासँगको सडक सञ्जाल बिच्छेद भएको प्रहरीले बताएको छ गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकका अनुसार दुइवटा हिमाली जिल्ला मनाङ र मुस्ताङसँगको सडक सञ्जाल पुरै बिच्छेद भएको छ । त्यस्तै लम्जुङ सदरमुकाम बेशीसहर पनि सडक सञ्जालबाट बिच्छेद भएको छ। अर्काे जिल्ला गोरखासँग पनि मुख्य राजमार्गको सडक सम्पर्क टुटेको छ।  

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घोप्टेभीरमा पहिरो खस्दा सिंगो मुस्ताङसँगको सडक सम्पर्क बिच्छेद भएको छ। त्यस्तै लम्जङुको बेशीसहर–मनाङ सडक सम्पर्क पनि बिच्छेद भएको छ। मनाङ जानका लागि बेशीसहर हुँदै जानुपर्छ। त्यस्तै डुम्रे–बेशीसहर सडक सञ्जाल बिच्छेद हुँदा लम्जुङसँगको सञ्जाल पनि बिच्छेद भएको छ। डुम्रे–बेशीसहर सडक अवरुद्ध हुँदा त्यसको मार लम्जुङ र मनाङसँगकै सम्पर्क टुट्छ।

डिएसपी विकका अनुसार आँबुखैरेनी–गोरखा सडक अन्तर्गत गोरखा नगरपालिका–१३ को मझुवामा पहिरो खसेको छ। त्यस्तै बेशीसहर–चामे अन्तर्गत पनि चासोँ गाउँपालिका–३, निगालाघारी र चामे गाउँपालिका–१ तिमाङमा पहिरो झरेको छ। मनाङका प्रहरी निरिक्षक रामकृष्ण श्रेष्ठका अनुसार यसअघि कोतोमा झरेको पहिरोले अवरुद्ध भएको सडक सोमबारदेखि सुचारु भएपनि निगालाघारी र तिमाङमा पुन पहिरो झरेको थियो।  

‘सडक सञ्जाललाई सहज बनाउने प्रयास त भईरहेको छ। तर, ठाउँठाउँमा पहिरो झर्दा समस्या भएको छ,’ श्रेष्ठले भने, ‘लम्जुङसँगको सम्पर्क सहज नभएसम्म मनाङ पनि स्थलमार्गले जोडिँदैन।’ लम्जुङको बेशीसहर–डुम्रे खण्डमा भने उदीपुरमा सडक अवरुद्ध भएको छ।  

गोरखाको मझुवामा पहिरो खस्दा गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बीचमै रोकिएका छन्। सडक डिभिजन कार्यालय सँगको समन्वयमा बाटो खुलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। ‘सडक पूर्णरुपमा बन्द छ। पहिरो खस्ने क्रम नरोकिँदा खुलाउन सकस भएको छ,’ खनालले भने।

मुस्ताङ जोड्ने एकमात्र सडक दुइदिनदेखि अवरुद्ध छ। मुस्ताङका प्रहरी प्रवक्ता इन्स्पेक्टर गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा भीषण पहिरो झरेको छ । सोमबार पहिरो खसेपछि रोकिएको सडक तत्काल खुल्ने अवस्था नरहेको सुवेदीले जानकारी दिए। ‘भीषण पहिरो खसेको छ। माथिबाट निरन्तर रुपमा ढुंगामाटो खसिरहेकोले तल सडक खुलाउन पनि त्रास छ,’ सुवेदीले भने, ‘बाटो खुलाउन अझै केहीदिन लाग्ने अनुमान छ। निकै नै भीषण पहिरो खसेकोले सडक खुलाउन सहज छैन।’

घोप्टेभीरमा हरेक वर्षजसो पहिरो खस्ने गर्छ । यो पटक भने अझै ठुलो आकारको पहिरो खसेको उनले बताए। पहिरो खसेको ठाउँ म्याग्दी र मुस्ताङको सिमाना नजिक पर्छ। ‘सडक खुलाउन जान पनि सकस छ। माथिबाट निरन्तर पहिरो खसेकोले निकै नै जोखिम पनि छ,’ उनले भने। सडक अवरुद्ध भएपछि मुस्ताङ पूर्ण रुपमा स्थलमार्गबाट सम्पर्कविच्छेद भएको छ। पोखरा–जोमसोम हवाई मार्ग पनि लामो समयदेखि बन्द हुँदा मुस्ताङ सबैखाले यातायातका साधनबाट बिच्छेद भएको छ। म्याग्दीको बेनीजेखि मुस्ताङको जोमसोमसम्म ७६ किलोमिटर दूरी छ।  

त्यस्तै कास्कीका भित्रि सडक पनि पहिरोले अवरुद्ध भएका छन्। कास्कीको रुपा गाउँपालिका–१ गैरीपोखरी हुँदै बेगनास–भोर्लेटार जोड्ने पक्की भित्री सडक खण्डमा पहिरो खसेको छ। अन्नपूर्ण गाउँपालिका–७ विरेठाटी स्थित नयाँपुल–घान्द्रुक–उल्लेरी सडक पनि पहिरोले अवरुद्ध छ।  

हवाई उडान पनि अवरुद्ध

वर्षापछि भिजिविलिटी नपुग्दा पोखरा विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने सबै हवाई उडान अवरुद्ध भएका छन मंगलबारका सबै उडान रद्द भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए। सुवेदीका अनुसार बुद्ध एयरलाइन्सले काठमाडौंका लागि नौ, भैरहवा र भरतपुरका १–१ गरि ११ वटा उडान राखेकोमा ती सबै रद्द भएका छन। त्यस्तै यती एयरलाइन्सका पनि पोखरा–काठमाडौंका ६ वटा उडान रहेकोमा सबै रद्द भएको सुवेदीले बताए।  

‘दिनभर विमानस्थल खुलेन, वर्षा र कुहिरोले गर्दा भिजिविलिटी नै पुगेन,’ सुवेदीले भने, ‘पोखरा विमानस्थलको मंगलबार दिउँसोको भिजिविलिटी जम्मा ३५ सय मिटर थियो। पाँचहजार मिटर भिजिविलिटीमा मात्र उडान र अवतरण गराइन्छ।’ मौसम खुल्ने अवस्था नदेखेपछि दिउँसो साढे तीन बजे अघि नै सबै उडान रद्द भईसकेका थिए। उडान अवरुद्ध भएको र स्थलमार्ग पनि निश्चित नहुँदा आउजाउ प्रभावित भएको प्रहरीले बताएको छ। राजमार्गमा पहिरो जाँदा गन्तव्य तय गरेका यात्रु बीचमै अलपत्र परेका छन्।

प्रकाशित: १७ श्रावण २०७९ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App