७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गैडाकोटका सय घर डुबानमा

केही दिन अघिदेखिको लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का करिब सय घरहरु डुबानमा परेका छन्। वर्षाको पानीको दीर्घकालीन निकास नहुँदा यी क्षेत्रका सय घरहरु डुबानमा परेको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिए।

जनक माध्यमिक विद्यालय, नमुना मावि स्कुल समेत डुबानमा परेको छन्। पूर्वपश्चिम राजगमार्ग माथिका स्कुल, होटेल, पार्टी प्यालेस, व्यवसायीक पसल तथा घरहरु डुबानमा परेको तिवारीले जानकारी दिए।

उनका अनुसार कालिकागण्डकी करिडोरमा यातायात आवागमन पूर्ण रुपमा प्रभावित छ। बोटेटोल, कालिगण्डकी चोक, लगायतका क्षेत्र बढी प्रभावित छन्। भवन नै डुबानमा परेपछि पठनपाठन बन्द भएका छन्। जनक माविको भुइँतला पूरा डुबानमा परेपछि कम्युटर तथा कागजातमा क्षति पुगेको छ।

गैडाकोटको यस क्षेत्र प्रत्येक वर्ष डुबानमा पर्दै आएको छ। तर, सम्बन्धित पक्षले ढलको व्यवस्था नगर्दा आफूहरु समस्यामा पर्ने गरेको गैडाकोटकी हरिमायाँ सापकोटाले बताइन्। अहिले जम्मा भएको पानी जयश्री खोला तर्फ कटाउने काम भएको गैडाकोट नगरपालिकाका मेयरका सचिवालय सदस्य विराट सापकोटाले जानकारी दिए।

यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर ८ को केही क्षेत्र डुबानमा परेको छ। बाढीबाट भएको क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बाढीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएपि) तथा सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए।

प्रकाशित: १७ श्रावण २०७९ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App