३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

औद्योगिक क्षेत्रको भाडा बढाएको भन्दै विरोध, भाडा नबढाउन मन्त्रीलाई ज्ञापन

मन्त्री बडुलाई ज्ञापनपत्र बुझाउँदै उद्योग संघ अध्यक्ष प्याकुरेल।

हेटौंडा औद्योगिक क्षेत्रको जग्गामा भाडा वृद्धि गरिएको भन्दै विरोध भएको छ। औद्योगिक क्षेत्रमा गरिएको भाडा वृद्धि चार वर्षपछि साउनदेखि लागू गरिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालयले २०७५ साउन १ गते वृद्धि गरेको भाडादर हेटौंडामा चालु आर्थिक वर्षबाट लागू गरेको हो।

केन्द्रले चार वर्ष अगाडि तोकेको भाडादर लागू गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडालाई पत्राचार गरेसँगै कार्यालयले उद्योगलाई नयाँ भाडा दरबारे पत्राचार गरेको थियो। अब हेटौंडा औद्योगिक क्षेत्र भित्रका उद्योगले प्रति रोपनी १९ हजार ७ सय ९१ रुपैयाँ भाडा तिर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्रका प्रमुख भोजराज विनाडीले जानकारी दिए।

चार वर्षदेखि वृद्धि नभएको भाडा अब एकै पटक लागू गरिएको उनले बताए। उनका अनुसार केन्द्रले वृद्धि भएको भाडाको विषयमा साउन २ गते मात्र जानकारी गराएको हो। भाडा बढेको विषयमा ढिलो जानकारी प्राप्त भएको बताउँदै उनले चार वर्षपछि बढेको भाडा लागू भएको प्रष्ट पारे।

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावलीमा प्रति पाँच वर्षमा जग्गा भाडा पुनर्वालोकन गर्ने व्यवस्था समेत रहेको छ। ३२ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रका २६ सय रोपनी जग्गा भाडामा रहेको छ। औद्योगिक क्षेत्रमा १४९ वटा उद्योग रहेको छ। जसमध्ये १३३ वटा सञ्चालनमा रहेको छ भने ११ वटा निर्माणाधीन अवस्थामा छ। ५ वटा उद्योग बन्द छ।

भाडा नबढाउन मन्त्रीलाई ज्ञापन

औद्योगिक क्षेत्र भित्रको जग्गाको भाडा बढाउने निर्णय कार्यान्वयन नगर्न भन्दै उद्योगीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापनपत्र बुझाएका छन्।

उद्योग संघ मकवानपुरले बिहीबार मन्त्री बडु हेटौंडा आएको सन्दर्भमा ज्ञापनपत्र बुझाएका हुन्। संघ अध्यक्ष स्वागतराज प्याकुरेलले मन्त्री बडुलाई नयाँ भाडा दर लागू भए आफूहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। जग्गा भाडा दर वृद्धिप्रति संघको पूर्ण असहमति रहेको बताए।

२०७५ सालमा पनि विभिन्न उद्योग संघहरु र औद्योगिक क्षेत्र उद्योग महासंघको प्रयासमा तत्कालीन समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले बढेको भाडा वृद्धि लागू नगर्न लिमिटेडलाई निर्देशन दिएको स्मरण गराउँदै प्याकुरेलले अहिले पनि बढेको भाडा तिर्नसक्ने अवस्था नरहेको भन्दै फिर्ता लिन अनुरोध गरे।

कोरोना महामारीका कारण थला परेका उद्योगहरु तंग्रिन खोजिरहेको समयमा उद्योगीलाई भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको अध्यक्ष प्याकुरेलको भनाइ छ। तरलता अभाव र महंगीले उद्योगहरु धरासायी हुने स्थितिमा पुगेको उनले बताए। मन्त्री बडुले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै बुझेर आवश्यक निर्णयमा पुग्ने आश्वासन दिए।

प्रकाशित: १२ श्रावण २०७९ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App