१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

बराह सहकारी प्रकरणः सम्पत्ति रोक्काको माग गर्दै पीडितहरुद्वारा धरान उपमहानगरपालिका घेराउ

७ अर्ब बढी रकम संकलन, हिसाब ५७ करोड मात्र

आइतबार दिउँसो धरान उपमहानगरपालिका परिसरमा घेराउ तथा नाराबाजी गर्दै बराह सहकारीका पीडित वचतकर्ताहरु। तस्बिर: रोहित राई

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न र विदेश जान पनि रोक लगाउन माग गर्दे सेयर सदस्य तथा वचतकर्ताहरुले आइतबार धरान उपमहानगरपालिका घेराउ गरेका छन्। 

सयौंको संख्यामा आएका पीडितहरुले न्याय पाउन ढिलाई भएको भन्दै उपमहानगरपालिकामा चर्को नाराबाजीसमेत गरे। वराह सहकारीमा पैसा जम्मा गरेका वचतकर्ताहरुले लामो समयसम्म सावा र ब्याज पाउन नसकेपछि  गत जेठ पहिलो साता बराह सहकारी पीडित संघर्ष समिति गठन गरेका थिए। उक्त समितिको अगुवाईमा पीडित वचतकर्ताहरु निरन्तर संघर्षमा छन्। तर, बराह सहकारीले आफ्ना वचतकर्ताहरुको पैसा फिर्ता गर्न सकेको छैन।

पीडित वचतकर्ताहरु सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दै आएपछि उपमहानगरपालिकाले छानबिन समिति गठन गर्ने आश्वासन दिएको छ। मेयर हर्क साम्पाङले पीडित वचतकर्ताहरुलाई धैर्य गर्न पनि आग्रह गरेका छन्। ‘हतार नगरौं, धैर्य पनि गर्नुपर्छ,’उनले भने। उपमेयर अइन्द्रबिक्रम बेघाले शुक्रबारदेखि छानबिन समिति गठनको प्रक्रिया शुरु भएको र समिति गठनको निर्णय भएपछि सम्बन्धित व्यक्तिलाई पत्राचार गरेर तत्काल बैठक बस्न पनि आग्रह गर्ने बताए। उक्त समितिले नै बराहसँग सम्बन्धित सबै जग्गाजमिन, सम्पत्ति रोक्कालगायतको निर्णय गरेर अघि बढ्ने पनि उनले बताए। ‘कानुनी र प्रशासनिक प्रक्रिया पुरा गरेर नै अघि बढ्छौं,’बेघाले पनि भने।

संघर्ष समितिको प्रवक्ता प्रदिप बास्तोलाले बराहको सञ्चालक समिति, उपसमिति, व्यवस्थापक, पुर्वसञ्चालक र कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने, बैंक खाता र सम्पत्ति रोक्का हुनुपर्ने, विदेश जानबाट रोक्नुपर्ने प्रमुख माग रहेको उनले बताए। ‘निष्पक्ष छानबिन हुनुपर्छ। यी वचतकर्ताहरुको पैसा कहाँ प्रयोग भयो ? छानबिन हुनुपर्छ भनेका छौं,’उनले भने।

७ अर्ब बढी रकम संकलन, हिसाब ५७ करोड मात्र 

धरान गु्रप अफ कम्पनी अन्तर्गतको बराह सहकारीमा कति सेयर सदस्य तथा वचतकर्ताहरु छन्, र कति पैसा फसेको छ भन्ने अझै प्रष्ट भएको छैन। पीडितहरुले आन्दोलन शुरु गरेपछि उपमहानगरपालिकाले नै एक समिति गठन गरेर अध्ययन गरेको थियो।

उक्त समितिले पनि यकिन तथ्यांक पाउन नसके पनि १३ हजार ५५४ जना वचतकर्ताहरु देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। त्यसमध्ये पनि ५ हजार ८८ जना सेयर सदस्यहरु मात्र संस्थाको कोपोमिस सिस्टममा देखिएको संघर्ष समितिका प्रवक्ता बास्तोलाले बताए। उनका अनुसार बाँकी ठुलो संख्याको वचतकर्ताहरु सेयर सदस्यकोरुपमा नभै बराह सहकारीमा पैसा बचतकर्ताकोरुपमा मात्र रहेको अध्ययनबाट देखिएको छ।

बराह सहकारीले भने अध्ययन समितिलाई उपलब्ध गराएको विवरण अनुसार ४ हजार ९९१ सेयर सदस्य छन् भने संस्थाको वचतकर्ता १३ हजार ५५४ जना छन्। गत जेठ २१ गते सञ्चालक समितिका अध्यक्ष मानबहादुर विश्वकर्माले पेश गरेको विवरण अनुसार ५७ करोड ९० लाख ८६ हजार ३९५ रुपैया वचत रहेको छ भने लगानी ६७ करोड बढी छ। बराहले जग्गा दृष्टिबन्धक, वचत खाता जमानी, बराह ज्वेलरी इन्भेष्टमेन्ट प्रालि व्यवसाय र कारखानामा लगानी, बराह डिपार्टमेन्टमा लगानी, बराह कृषि उपज तथा पशुपालन प्रालि, बराह फेमिली किचन धरानमा लगानी, बराह भेडेटार मल्टिप्रपोज कम्पनी प्रालिलगायतमा लगानी भएको दाबी गरेको छ।

सहकारीले ५७ करोड ९० लाख वचतको विवरण दिएपनि संघर्ष समितिसँग सम्पर्कमा आएका पीडित वचतकर्ताहरुको हिसाब गर्दा दशौं गुण बढी रकम संकलन भएको देखिन्छ। ‘अहिलेसम्म देशविदेशको गुनासो हेर्दा ७ अर्ब बढी रकम संकलन भएको देखिन्छ, तर सहकारीको सिस्टममा ५७ करोड मात्र देखिन्छ,’प्रवक्ता बास्तोलाले भने,‘जनतालाई पैसा वचत गर्न लगाएको छ, तर सेयर सदस्य बनाएको छैन। पैसा वचत गर्दा पासबुक चै दिएको छ। सेयर सदस्यहरुलाई पनि पासबुक दिएको छ, वचतकर्ताहरुलाई पनि पासबुक दिएको छ।’ पासबुक सहकारीकै भएकोले पैसा वचत मात्र गर्नेहरुलाई पनि सहकारीसँगै कारोबार गरिरहेको भन्ने परेको उनले बताए।

प्रकाशित: ८ श्रावण २०७९ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App