एक वर्षकी बालिका सोमबार विराटनगरबाट अपहरणमा परेकी थिइन्। अपहरण भएको २ दिनपछि बुधबार बिहान बालिकालाई प्रहरीले सकुशल उद्धार गरेर ल्याएको छ।
मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन यादवकी १ वर्षकी छोरी निकिशा यादवलाई अपहरण गरी भारतको दरभंगाा पुर्याएका थिए। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरबाट अपहरण गरी दरभंगा पुर्याएकी १ वर्षकी निकिशा यादवलाई २ दिनमै सकुशल ल्याउन सफल भएको हो।
‘बालिका अपहरण गर्ने मुख्ययोजनाकारसहित २ जना पक्राउ परेका छन्,’ एसपी कोइरालाले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बालिकालाई अपहरण गर्नुको मुख्य कारण ‘फिरौती’ (पैसा)का लागि देखिन्छ। बालिकालाई विराटनगरबाट अपहरण गरेर सुनसरी हुँदै सप्तरीको नाकाबाट भारत लगिएको थियो। भारतीय प्रहरीको सहयोगमा हामीले बालिकालाई २ दिनमै सकुशल ल्याउन सफल भयौं।’
बालिका अपहरणका मुख्य योजनाकार विराटनगर महानगरपालिका–६ रामपुरका २७ वर्षीय रविन्द्रकुमार साह र बच्चा लिएर गएकी विराटनगर–५ कारखाना टोलकी २७ वर्षीय अनु साहलाई पक्राउ गरेको बताउँदै, एसपी कोइरालले भने, ‘अपहरणकारीले बालिकालाई केही हुँदैन हामीसँग रहेको छ भनेर बालिकाका हजुरबुवालाई म्यासेज पठाएका छन्। उनीहरुले अन्य योजना बनाउन नपाउँदै पक्राउ परी हाले।’
अपहरणीमा परेकी बालिका बुवासँग बुढीगंगामा बस्दै आएकी थिइन्। उनकी आमा काठमाडौंमा अध्ययनरत रहेको र समय समयमा घर आउने गर्थिन्। रकम असुल्नकै लागी अपहरण गरेको देखिन्छ। प्रारम्भिक अनुसन्धानबाट अपहरण गर्ने र १० देखि १५ लाख रुपैयाँसम्म माग्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
एसपी कोइरालाका अनुसार घटना यसरी भयोः
करिब २ महिनाअघि दीपेन यादवको मोबायलमा अपरिचित नम्बरबाट फोन आउँछ। उक्त फोनमा कुराकानी हुँदै जाँदा अनु साहसँग सम्बन्ध नजिकँदै जान्छ। पक्राउ परेका अर्का व्यक्ति रविन्द्र साहले उनका साथी दीपेनको नम्बर अनुलाई दिएर फोन गरेर सम्बन्ध बढाउन लगाए। यसरी सम्बन्ध बढ्दै जाँदा ‘प्रेम’सम्म सम्बन्ध बढेको देखिन्छ। अनु र दीपेनबीच भेटघाट र कुराकानीको क्रम बढ्दै जान्छ। त्यस क्रममा दीपेनले आफ्नो श्रीमती काठमाडौंमा बस्ने गरेको र आफूसँग एउटा बच्चा भएको बताउँछन्। रविन्द्र र अनुको २÷३ वर्ष अघिदेखि चिनजान भएको देखिन्छ।
यसैबीचमा साउन २ गते सोमबार बिहान अनुले विगत केही दिनदेखि छोरी हेर्ने कर गरेका कारणले दीपेनले आफ्नो कारमा छोरी निशिकालाई ल्याउँछन्। विराटनगरको रोडशेषमा रहेको स्वागतम होटल अगाडिबाट अनु कारमा चढ्छिन्। कारमा बस्दा आफूसँग ल्याएको नयाँ लुगा अनुले बच्चालाई फेराइ दिनछिन्। दुवै जना महेन्द्र मोरङ कलेज जाने सडकको चिया पसलमा गएर दीपेनले २ कप चिया अर्डर गर्छन्।
तर, अनुले चिया खान नखाने भनेर मास्क नफुकाली गफ गर्छन्। कारदेखि चिया पसल आउँदासम्म अनुले बच्चालाई बोकेकी हुन्छिन्। केही समयपछि अनुले आफ्नो मोबायलमा ब्यालेन्स सकिएको भनेर दीपेनको मोबायल माग्दै बाहिर निस्केर जान्छिन्। नजिकै पहिलदेखि नै रविन्द्र मोटरसाइकल लिएर अनु र बच्चालाई लिन बसेका हुन्छन्।
प्र.०१.०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा रविन्द्रले अनु र बच्चालाई सप्तरीको राजविराज हुँदै भारत विहारको कुनौलीसम्म पु¥याउँछन्। कुनौलीबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाएर पुनः रविन्द्र विराटनगर फर्कन्छन्। रविन्द्रले विराटनगर आउँदा अनुको मोबायल ल्याउँछन् र त्यही मोबायलबाट पीडित परिवारलाई फेसबुकलगायत सामाजिक संजालमा बालिका हराएको सूचना हटाउन धम्की दिन्छन्। भोली फोन आउँछ अहिले शान्ति भएर बस्नु भनेको जस्ता म्यासेज पठाए।
दरभंगाका विशाल साहको घरमा बच्चा लिएर अनु जान्छिन्। विशालका साढु दाइ शम्भु साह रंगेली घर भइ विराटनगरमा फलफूल व्यापार गर्छन्। अनुको केही समयअघि शम्भुसँग चिनाजान भएको थियो। शम्भुमार्फत विशालसँग चिनजान भएको थियो। अनु यस अघि पनि विशालको घर एक पटक पुगेको अनुसन्धानका क्रममा खुलेको छ।
रविन्द्र बुढीगंगा–१ मा उनले सञ्चालन गरेको श्रीराम ट्रेडर्सबाट पक्राउ परेका हुन्। पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान थालेको छ
प्रकाशित: ४ श्रावण २०७९ १२:५२ बुधबार