काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा निस्केको लेदो माटो र पानीसहितको फोहोराले स्थानीय त्रसित बनेका छन्। सोमबार बिहान स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा निस्किएको मिथेन ग्यासहितको फोहोराले सर्वसाधरणलाई लामोसमयसम्म त्रसित बनाएको हो।
ग्यासको हल्ला चलेपछि अध्ययन गर्न पुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् एंग ग्यास शाखाका प्रमूख पृथ्वीलाल श्रेष्ठले पानीसँग मिलेर बसेको मिथेन ग्यास बाहिर निस्किदा यस्तो अवस्था आएको बताए । त्रसित स्थानीयलाई उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए।
पानी र लेदोका कारण यस क्षेत्रको आगमनमा समेत प्रभाव परेको छ। फोहोराका कारण नजिकैको घरहरू हिलाम्मे भएका छन्। हिँड्ने सडकमा समेत हिलाम्य भएको छ। फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि प्रहरी तैनाथ गरिएको छ। ‘लामो समयसम्म फोहोरो नरोकिँदा सर्वसाधरण त्रसित छन्,’ स्थानीय सन्जु सुवेदीले भने, ‘बिस्फोट हुन सक्ने भयले धेरैलाई सताएको छ।’ जोखिम हुन सक्ने कारण वरपरका पसल समेत बन्द गराइएको उनले सुनाए।
ग्यासले स्वास्थ्यलाई प्रत्यक्ष असर नपुराएपनि वरपर अगालागी भएमा चाहिँ जोखिम हुन सक्ने भूभर्गविद् श्रेष्ठले बताए। ‘अहिले माटोको हिलोका कारण समस्या छ,’ उनले भने, ‘वरपर कतै आगलागी भएमा चाहि जोखिम पुग्न सक्छ।’
विगतमापनि कतिपय ठाउँमा यस्तो घटना देखिएको बताउँदै अहिले कुरेर बस्नु बाहेकको विकल्प नभएको उनले बताए। ‘यसलाई जबरजस्ती रोक्न सकिन्न,’ सोमबार मध्यान्न नागरिकसँगको कुराकानीमा उनले भने, ‘अहिलेलाई कुर्नुको विकल्प छैन।’ जम्माभएको ग्यास सकिएपछि फोहोरा निस्कने क्रम रोकिन्छ।’
श्रेष्ठका अनुसार सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किँदा धेरै माथिसम्म निस्किने देखिन्छ। जोरपाटीमा पनि त्यही भएको उनले सुनाए।
यसअघि २०७८ भदौको पहिलो साता बोरिङ खन्ने क्रममै काठमाडौंको कपनमा एक्कासि बालुवासहित पानीको फोहोरा निस्केको थियो। काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको बताउँदै उनले कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको सुनाए। मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने भूगर्भभिद् श्रेष्ठले सुनाए।
मिथेन ग्यास के हो ?
यो ग्यास प्राकृतिक तथा मानवजन्य कारणले उत्सर्जन हुन्छ। ल्यान्डफिल, कृषिजन्य गतिविधी, तेल तथा प्राकृतिक ग्यास, कोइला खानी, खेर गएको पानी प्रसोधन तथा निश्चित औद्योगिक प्रक्रियाबाट यो ग्यास निस्कन्छ। पृथ्वीको तापमान वृद्धिका लागि जिम्मेवार हरितगृह ग्यासमध्येको एक हो। मिथेन पृथ्वीको तापमान बढाउन र जलवायु परिवर्तनका लागि जिम्मेवार ग्यास हो।
सूर्यको प्रकाशलाई परावर्तित हुन नदिई वायुमण्डलमा राख्ने अत्यधिक क्षमता यो ग्यासको छ। पछिल्ला २ शताब्दीमा यो ग्यासको वायुमण्डलमा संकेन्द्रण(कन्सनट्रेसन) दुई गुणाले बढेको मानिन्छ। हरितगृह ग्यासमा प्रमुख हिस्सा लिएको कार्बन डाइअक्साइड वायुमण्डलमा धेरै समयसम्म रहने गर्छ भने मिथेन तुलनात्मक रूपमा थोरै समयमात्र रहन्छ। यही कारणले यो ग्यासलाई द्रुत हिसाबले हटाउन सके पृथ्वीको तापमान वृद्धिलाई नियन्त्रण गर्न सकिने वैज्ञानिक मत छ। हावा भन्दा हलुका रहेको यो ग्यास ज्वलनशील चरित्रको हुन्छ। यो पानीमा धेरै घुलनशील हुँदैन।
प्रकाशित: ४ श्रावण २०७९ ०२:२५ बुधबार