१६ चैत्र २०८० शुक्रबार
समाज

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगर प्रमुख धनराज आचार्य तथा उपप्रमुख मन्जुदेवी गुरुङद्वारा सामुदायिक विद्यालयलाई स्कुल बसको चावी हस्तान्तरण गर्दै। तस्बिर नागरिक

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।  

पोखरा महानगरपालिका– २९ को जनप्रकाश मावि, पोखरा–३० को त्रिभुवन शान्ति मावि, पोखरा–३१ को अमरसिंह मावि र पोखरा–३२ को ब्रह्मरुपा माविलाई स्कुल बस हस्तान्तरण गरिएको हो। महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र शिक्षा महाशाखा प्रमुख विश्वराज आचार्यले स्कुल बसको चावी हस्तान्तरण गरेका हुन्।

शिक्षा महाशाखाका अधिकृत आचार्यका अनुसार सम्बन्धित विद्यालयले प्रति विद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै रकम लगानीमा बस ल्याइएको हो। एककरोड एक लाख रुपैयाँको लागतमा भन्सार छुट सुविधामा टाटा कम्पनीका चारवटा स्कुल बस ल्याई विद्यालयलाई हस्तान्तरण गरिएको शिक्षा शाखाले जनाएको छ। बस ४० सिट क्षमता छन्। 

स्कुल बस हस्तान्तरणसँगै पोखरा महानगर प्रमुख आचार्यले सामुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताए। सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिदैै उनले देशभरको अवस्था हेर्दा कास्की बाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने गरेको सुनाए। ‘पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्ने अवस्था आउनुको पछाडिको कारण खोजि गर्नुपर्छ,’ उनले भने, ‘सामुदायिक विद्यालयको पढाई सुधार गरिनुपर्छ।’  

महानगर प्रमुख आचार्यले पोखरामा विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा समुदायिक विद्यालय पर्नेगरी सुधार गर्ने अठोट लिए। ‘कास्कीमा ६५ प्रतिशत विद्यार्थी निजीमा पढ्छन्। महानगरमा ८५ प्रतिशत विद्यार्थी निजीमा अध्ययन गर्छन्।’ उनले भने, ‘सामुदायिक विद्यालयमा आकर्षण ल्याउन किन सकिएन? विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग बसेरै यस विषयमा कुरा गर्नुपर्ने खाँचो देखिएको छ।’ 

उनका अनुसार ठूलो लगानी रहेको समुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन महानगर के गर्नुपर्छ, त्यो गर्छ। समुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावको पहिलो रोजाई बनाउने गरी सुधार गरेरै छाड्ने प्रतिबद्धता समेत प्रमुख आचार्यको थियो।  

सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई घरकै दैलोबाट विद्यालय पु¥याउने बस व्यवस्थाले विद्यार्थीको संख्या बढ्ने अपेक्षा गरिएको छ। ‘सामुदायिक विद्यालयका विद्यार्थी पनि घरदैलो बाटै बस चढेर विद्यालय पुग्न पाउने भएपछि केही संख्या बढ्न सक्छ। तर, संख्या बढाएर मात्र पुग्ने छैन। गुणस्तर बढाउँदै सामुदायिक विद्यालयले विद्यार्थी र अभिभावकको मन जित्नुपर्छ,’ उनले थपे।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई ‘शैक्षिक हव’को रुपमा विकास गर्न गुणस्तरीय शिक्षा दिनुपर्ने बताइन्। उनले सम्बन्धित विद्यालयले सुविधासँगै गुणस्तर समेत बढाउनुपर्नेमा ध्यान दिन आग्रह गरिन्। शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्कुल बसले विद्यार्थीको पहुँच बढ्ने र विद्यार्थीलाई सुरक्षित महशुस गर्ने जिकिर गरे।  

प्रकाशित: २८ असार २०७९ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App