१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
समाज

तस्करलाई वन छाडेर कर्मचारी सहरमा

लहान- मधेस बन्दको मौका छोपी उदयपुरबाट सिरहामा काठ तस्करी भइरहेको पाइएको छ। तस्करले उदयपुरको जंगलबाट सालको काँचो फेन्टा सिरहाका काठ मिल र फर्निचरमा पुर्या्उने गरेका हुन्। 'सिरहाको मुक्सार क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा तल सालका फेन्टा राखेर माथिबाट बालुवाले छोपी उदयपुरको काठ गोलबजार, मिर्चैया, चोहर्वाका समिल र फर्निचरमा पुर्या इन्छ,' एक वनकर्मीले भने।

सिरहामा मधेसी मोर्चाको हडतालका कारण वन कार्यालय खुलेको छैन। वन कर्मचारी बन्दलाई बहाना बनाई कार्यालय र कार्यक्षेत्र जाँदैनन्। यसको फाइदा काठ तस्करले उठाइरहेको मुक्सारका रामस्वरूप महतोले बताए।

जिल्ला वन कार्यालय, लहान मातहत दुई सेक्टर वन र १२ इलाका वन कार्यालय छन्। वनक्षेत्रमा रहेका इलाका वनका कर्मचारी (सहायक वन अधिकृत) बन्दअगाडिदेखि नै सहरमा डेरा गरी बसिरहेको जिल्ला वनले जनाएको छ।

काठ तस्करीका दृष्टिले जिल्लाको उत्तरवर्ती क्षेत्र घुर्मी, ढोडना, तरेगना, मुक्सार संवेदनशील रहेको वन कार्यालयको रेकर्डबाट पुष्टि हुन्छ। इलाका वनमा वन कर्मचारी नबस्दा तस्कर तिनै क्षेत्रमा बढी सक्रिय देखिएका छन्। सहायक वन अधिकृतहरू कार्यक्षेत्र छाडेर मिर्चैया, लहान, गोलबजार र कसहामा बस्दै आएको वन कार्यालयले जनाएको छ।

'अहिले काठ तस्कर रातभर उदयपुरको जंगलमा सालको रूख काटेर फेन्टा साइज बनाउँछन्,' वनस्रोतले भन्यो। बिहानीको समयमा ट्र्याक्टरमा लोड गरेर माथि बालुवाले छोपी बजारसम्म पुर्याइउने काम हुन्छ। मुक्सार, जमदह, तरेगना गोविन्दपुरबाट प्रशस्त सालका फेन्टा भित्रिने र ती इलाकाका वन अधिकारीदेखि काठ तस्करबीच 'सेटिङ' नै रहेको स्रोत बताउँछ।

कर्मचारी कार्यक्षेत्र नबस्दा यहाँको उत्तरवर्ती नाका तस्करका लागि काठ ढुवानी गर्न सहज बनेको छ। वन अधिकारी कार्यस्थल काठ तस्करको जिम्मामा छाडेर सहरमा बस्दै आएका छन्।

इलाका वन कार्यालय, विष्णुपुरकट्टीको कार्यालय सेक्टर वन कार्यालय धनगढी, इलाका वन कार्यालय तरेगनाको कार्यालय लहान, इलाका वन कार्यालय बस्तीपुरको कार्यालय लहान, इलाका वन कार्यालय गोविन्दपुरको कार्यालय लहान, इलाका वन कार्यालय मुक्सारको कार्यालय कसहा, इलाका वन कार्यालय जमदहको कार्यालय गोलबजार, इलाका वन कार्यालय फूलबरियाको कार्यालय सेक्टर वन कार्यालय मिर्चैया, इलाका वन कार्यालय रामपुरबिर्ताको कार्यालय मिर्चैया, इलाका वन कार्यालय भुल्केको कार्यालय मिर्चैया, इलाका वन कार्यालय बल्टियाको कार्यालय मिर्चैया र इलाका वन कार्यालय धर्मपुरको कार्यालय धर्मपुरमै भए पनि ती सबैमा कर्मचारी बस्दैनन्।

जिल्ला वन कार्यालय, योजना फाँटका प्रमुख सहायक वनअधिकृत गंगा यादव भन्छन्, 'इलाका वनको आफ्नो भौतिक संरचना नहुँदा कर्मचारी सम्बन्धित कार्यालयमा बस्न नसकेका हुन्।'

उनले भाडामा कार्यालय सञ्चालन गर्ने अवस्था नरहेको र विभागले कार्यालय सञ्चालननिम्ति घरभाडा उपलब्ध नगराएकाले पनि समस्या बढेको जिकिर गरे। वनमा कर्मचारी नहुँदा तस्करी गर्नेलाई सजिलो भएको उनी स्विकार्छन्। 'वनक्षेत्रमा कर्मचारी हुँदा र नहुँदामा फरक त भइहाल्छ, हामीले सकेजति तस्करी नियन्त्रण प्रयास गरेकै छौं,' उनले भने।

प्रकाशित: २६ मंसिर २०७२ २०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App