२० जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

काठ तस्कर प्रहरी सशस्त्र टोलीको नियन्त्रणमा

उदयपुर-दाउरा ल्याउने नाममा लुकिचोरी काठ ल्याउदै गरेका प्रहरीनै पक्राउ परेका छन्। वन कार्यालय नेतृत्वको सशस्त्र गस्ती टोलीले प्रहरीसहित दाउरा बोकेको ट्याक्टर शुक्रबार राति नियन्त्रणमा लिएको हो।जिल्ला वन कार्यालयबाट गएको सशस्त्र टोलीले सदरमुकाम त्रियुगा नगरपालिका ६ खैजनुपरनजिकै लुहाले खोलामा दाउरा ल्याउदै गरेको स १ त ४२८७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

ट्याक्टरसँगै गस्तीले मोटरसाईकलमा स्कटिङ गर्दै गरेका दुई प्रहरी जवानलाई पनि नियन्त्रणमा लिइएको वन कार्यालय स्रोतले जनाएको छ । राति करिव ८ः०० बजे खैजनपुर जंगलबाट निस्केको ट्याक्टरलाई वनको गस्तीले भेटेर चेकजाँच गर्दा दाउरासँगै काठ पनि बोकेको पाइएपछि नियन्त्रणमा लिइएको जनाएको छ ।

राति राति ट्याक्टरमा भरी दाउरा बोकेको देखेर नियन्त्रण गर्न खोज्दा ट्याक्टरसँगै रहेको मोटरसाईकलमा सवार दुई प्रहरीले 'प्रहरीको दाउरा किन रोक्ने?' भन्दै छाड्न भनेका थिए । तर, गस्ती टोलीले वन कार्यालयमा खवर गरेर जानकारी गराउँदा काठ बोकेको हुन सक्छ भन्दै नछाड्न आदेश दिएपछि प्रहरीलाई समेत लिएर ट्याक्टर जिल्ला वन कार्यालय पुर्याइएको एक स्थानीयले बताए ।

पक्राउ परेका प्रहरीको नाम गोप्य राखिएको छ । काठ, दाउरा र ट्याक्टर वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ भने प्रहरीलाई भने त्यतिखेरै छाडिएको वन कार्यालयका एक अधिकृतले नाम नबताउने सर्तमा बताए । दाउरा ल्याउने नाममा राति राति काठ ओसार्ने गरेको पाइएकाले प्रहरीको गाडी नियन्त्रणमा लिनुपरेको वन स्रोतले जनाएको छ ।

प्रहरीले काठ ल्याउन प्रयोग गरेको ट्याक्टर भने जोगीदहका एक स्थानीयको भएको खुलेको छ । उनले प्रहरी आदेशमा ट्याक्टर दिएको बताउँदै ट्याक्टर छाडिदिन आग्रह गरेको गस्ती टोलीले जनाएको छ । ट्याक्टर चालक भने वन गस्तीले पक्राउ गरेलगत्तै ट्याक्टर छाडेर भागेका थिए । वन कार्यालयले दाउरा ल्याउन नाममा काठ ओसार्ने गरेको आशंकामा गस्तीले रोकेर नियन्त्रणमा लिएको जनाएको छ ।

यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी नभएको जनायो । वन अधिकृत किशोरचन्द्र गौतमसँग सम्पर्क हुन सकेन । पक्राउ ट्याक्टरलाई वन कार्यालय परिसरभित्रै राखिएको छ । यसबारे आवश्यक छानविन गर्न आईतबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग बसेर वन अधिकृतले छलफल गरिरहेको र छाड्ने नछाड्ने टुंगो लाग्ने जनाइएको छ ।

प्रकाशित: २५ मंसिर २०७२ २३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App