२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अपराध

पारिवारिक विवादले उग्र रूप लिँदा बाबुले गरे भूतपूर्व सैनिक छोराको हत्या

दैलेखमा मंगलबार राति पारिवारिक विवादका क्रममा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

दैलेख सदरमुकामसँग जोडिएको नारायण नगरपालिका-९ सालखर्क निवासी ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय आफ्नै छोरा यादव थापामाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पारिवारिक विवादका क्रममा कविराजले यादवको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आरोपित कविराजलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएको छ। मृतक यादव थापा नेपाली सेनाका सेवानिवृत्त व्यक्ति रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० जेष्ठ २०८३ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App