coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विवाहको उमेर नपुग्दै सुत्केरी

रोल्पा नगरपालिका–१० धवाङकी एक किशोरी उमेरले १९ वर्ष पुगिन्। ७ कक्षा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ वर्ष पुग्यो। ३ वर्षको छोरा छ। पढाइ छोडेर अहिले पश्चातापमा परेकी उनका पति वैदेशिक रोजगारीका लागि कतार छन्। ‘१६ वर्षको उमेरमा बिहे भयो। बाआमाले त पढ भन्थे तर आफैं पढिनँ। हाम्रो गाउँतिर पढेर राम्रो गरेको पनि कोही छैन। उस्तै त हो जस्तो लाग्ने,’ उनले भनिन्, ‘पढेर के पो होला जस्तो लाग्ने। हामीजस्ता पढाइ छोड्ने त धेरै छन्।’

घरको अवस्था कमजोर भएकाले छिमेकी गाउँमा मामाघरमा बसेर पढेकी अर्की किशोरी पनि आउँदो फागुनमा २० वर्ष पुग्दै छिन्। १६ वर्ष नपुग्दै बिहे गरेकी उनका पति पनि अहिले पैसा कमाउन साउदी गएका छन्। ४ कक्षा पढेर विद्यालय छोडेकी उनी पढ्न नपाएकोमा अहिले पिरोलिन्छिन्। ‘पढेको भए राम्रो हुन्थ्यो होला। अहिले त बिहानैबाट कामै काम भन्यो हिँड्यो। हिजोआज त आफैंसँग दिक्क लाग्छ,’ उनले सुनाइन्, ‘हाम्रो गाउँघरतिर उहिलेदेखि सानैमा बिहे गर्ने चलन छ। हामीलाई सानोमा बिहे गर्नु हुँदैन भनेर कसैले सिकाएन। सबैले गरेकै त छन्। चलेकै छ जस्तो लाग्यो।’

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाह जस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो। द्वन्द्व सकिएर शान्ति स्थापना भएको एक दशक नाघिसक्दा पनि जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्य जस्ता विषय ओझेलमा परेका छन्।

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार हुन सकेको छैन। लिखत रूपमै गैरकानुनी मानिएको यो अपराध दिनप्रतिदिन बढिरहेको छ। बालविवाहका कारण विवाह दर्ता र जन्मदर्तामा हैरानी हुने साथै विभिन्न अवसरमा वञ्चित हुने भए पनि तथ्यांक ओरालो लागेको छैन।

रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीहरूको संख्या ठुलो रहेको एक तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको ११ महिनामा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका ३ सय ४ जनामध्ये ५९ जना २० वर्षमुनिका छन्। तीमध्ये १२ किशोरीको सुत्केरीकै समयमा समस्या देखिएपछि अप्रेसन गर्नुपरेको थियो। त्यसो त यहाँ १७ बालिकामा सुत्केरीका समयमा जटिलता समेत देखिएको थियो।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू किशोरीहरू आमा बनेको देखेर दिक्क बनेका छन्। ‘रोल्पामा बालविवाह घटेको छैन। सामाजिक र सांस्कृतिक चालचलन नफेरिएर पनि यस्तो भएको हुन सक्छ,’ जिल्ला अस्पतालका डा. आधार वली भन्छन्, ‘सानैमा बच्चा जन्माउँदा पाठेघर परिपक्क भएको हुँदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जाँदा पाठेघरको समस्या देखिने सम्भावना बढी रहन्छ।’

ढिलो विवाह गरेपछिको फाइदाबारे जानकारी नै नपाएका रोल्पालीहरू सानैमा बिहे गर्ने र बच्चा जन्माउनेलाई सहज मान्छन्। परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत छ। बालविवाहपछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्रवाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ।

‘अब स्थानीय सरकारले बालविवाह नगर्नेबारे र बिहे भइहाल्यो भने पनि बच्चा ढिलो जन्माउन सल्लाह दिनुपर्छ। विशेष गरी किशोरी शिक्षालाई अलि बढी ध्यान दिन जरुरी देखिन्छ,’ डा. वलीले बताए। रोल्पा अस्पतालकी स्टाफ नर्स मिना कवर बालविवाहले सुत्केरी समयमा जोखिम रहने बताउँछिन्। ‘आमा र बच्चा जहिले जोखिममा रहन्छन्। पोषण, शिक्षा र आर्थिक अभाव उस्तै हुन्छ,’ कवर भन्छिन्, ‘बालविवाह गरेकाहरूलाई मानसिक र सामाजिक रूपले स्थापित हुन पनि गाह्रो हुन्छ भने छोडपत्र पनि बढ्न थालेको छ।’

प्रकाशित: २६ असार २०७९ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App