१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

प्रहरीकै सहयोगमा ग्यास तस्करी

लहान- लहानका भुवन सिंह खाना पकाउने 'प्रिमा' ग्यासका लागि लाइन बसेको महिनादिन भयो। दुई साताअघि उक्त ग्यास लहानस्थित डिलरमा आयो तर उनले पाएनन्। किनकि, उनको 'पहुँच' पुगेन। स्थानीय डिलरबाट ग्यास नपाएपछि उनी विकल्प खोज्न थाले।विकल्प पनि यहीँका डिलरसँग रहेछ– तीन हजार रुपैयाँ दिए पारि (भारत) बाट ग्यास मगाइदिने। ग्यास नभएर चुलो बन्द हुने अवस्थाका उनले प्रस्ताव स्विकारिहाले। साँझ डिलरबाट सिंहलाई 'ग्यास लैजान' फोन आयो। सिंहले ग्यास त पाए तर दोब्बर मूल्यमा। उनीजस्ता सयौं उपभोक्ता अहिले बन्दका नाममा स्थानीय ग्यास डिलरबाट लुटिइरहेका छन्। यी डिलरले भारतबाट नेपाली ग्यास उद्योगको सिलिन्डरमा ग्यास भर्न लगाएर काठमाडौंका उपभोक्तासँग प्रतिसिलिन्डर १० हजार रुपैयाँसम्म असुलिरहेका छन्।

मधेस आन्दोलन र नाकाबन्दीको आडमा यहाँका ग्यास डिलरले उपभोक्ताबाट चर्काे मूल्य असुलिरहेको स्थानीय सत्यनारायण साहले बताए। प्रहरी–प्रशासनले पनि राजमार्गमा सवारी एस्कर्टिङ गर्नेबाहेक यहाँ भइरहेका गैरकानुनी कार्य देखे नदेख्यै गरेको उनको गुनासो छ। सीमामा तस्करी नियन्त्रणका लागि तैनाथ सशस्त्र प्रहरीको आँखैअघिबाट दिनहुँ सयांै ग्यास सिलिन्डर भित्रिरहँदा पनि नियन्त्रणकारी निकाय चुप छ। भारतीय सहर लौकाहा, खुटौना, लदनिया, कुनौली, लौकहीबाट दैनिक सयांै ग्यासका सिलिन्डर मोटरसाइकलमा ल्याइन्छ। सिरहा र सप्तरीका ग्यास डिलरकहाँ पुर्या इन्छ। यी डिलरले राति बस र निजी जिपमा राखेर काठमाडांै पुर्यााउँछन्।

भारतीय बजारमा पहिला १४ किलो ग्यास भर्दा ७ सय भारतीय रुपैयाँ (भारु) तिर्नुपर्थ्यो। अहिले भारतीय व्यापारीले मूल्य बढाएर १ हजार २ सय भारु बनाएको उताबाट लहानका डिलरमा ग्यास ल्याइदिने एक भरियाले बताए। ग्यास ओसार्न स्थानीय र भारतका भरियाको मिलेमतो छ। भारतीय कम्पनीका सिलिन्डर भारतीय सीमा सुरक्षा बलले नेपाल ल्याउन रोक्छ। स्थानीय डिलरहरू नेपाली उद्योगको खाली सिलिन्डर भरियामार्फत पारि पठाउँछन्। उताबाट भरिएका सिलिन्डर ल्याउँछन्।

यो धन्दा बढेपछि भारतीय र नेपाली सीमा सुरक्षा बल पनि 'मालामाल' भइरहेका छन्। पारिको सीमा सुरक्षा बलले प्रतिसिलिन्डर २ सय भारु र यताकाले २ सय रुपैयाँ असुलेपछि मात्र ग्यास भित्रिन दिइन्छ। यो प्रक्रियाबाट डिलरसम्म एक सिलिन्डर ग्यास आइपुग्दा २ हजार ५ सय नेपाली रुपैयाँ पर्छ। स्थानीय उपभोक्तालाई बेच्दा डिलरले ३ हजार र काठमाडांै पठाउँदा १० हजार रुपैयाँसम्म असुल्छन्। कतिपय डिलरले ग्यास भरिएका सिलिन्डर काठमाडौं पठाउने गरेका तस्करलाई नै बेचिदिन्छन्। उनीहरूलाई बेच्दा भने ४ हजार रुपैयाँसम्म लिन्छन्।

मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण ग्यासका बुलेट कम मात्रामा भित्रिएको भन्दै नेपाली ग्यास उद्योगले सिरहा र सप्तरीका डिलरलाई नियमित ग्यास आपूर्ति गर्न नसकेको बताउने गरेका छन्। कोसी ग्यासका प्रबन्धक सचित उपाध्याय भन्छन्, 'पहिलाभन्दा निकै कम बुलेट आइरहेका छन्, आएको ग्यासले बजारमाग धान्न गाह्रो छ। सिरहामा असुरक्षाका कारण पनि ग्यास पठाउन नसकिएको हो।'

भाडाको नाममा कालोबजारी
नेपाली ग्यास उद्योगबाट स्थानीय डिलरमा आउने ग्यास निर्धारितभन्दा ५ सय रुपैयाँसम्म महँगोमा किन्न उपभोक्ता बाध्य छन्। लहानस्थित प्रिमा ग्यासको डिलरबाट दुई साताअघि ७ किलो ग्यासको एउटा सिलिन्डर किन्न लहान–४ कि सरु सिंहले ९ सय रुपैयाँ तिर्नुपर्योत। 'ढुवानीभाडा महँगो परेको भन्दै डिलरले ९ सय रुपैयाँ मागेपछि दिनै पर्योा,' उनले भनिन्। ढुवानीभाडा डिलरले आफैं बेहोरेको भन्दै स्थानीय प्रशासनले सात किलो ग्यास सिलिन्डरको मूल्य ७ सय ७५ निर्धारण गरिदिएको थियो। यो मूल्यसूची आम उपभोक्ताले देख्ने र बु‰ने गरी टाँस्नुपर्ने हो तर त्यसो नगरिएको सिंहले बताइन्।

नेपाल आयल निगमले १४.२ किलो ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। उद्योगबाट डिलरलाई यो ग्यास १ हजार ३ सय ४८ रुपैयाँमा आउँछ। यो ढुवानीसहितको मूल्य हो। प्रमुख जिल्ला अधिकार मानबहादुर बिकेले पटक–पटक विज्ञप्ति निकालेर 'निर्धारित मूल्यभन्दा बढी लिनेलाई कारबाही गर्ने' चेतावनी दिइरहेका छन्। तर, कालोबजारी गर्नेहरूले यसमा बेवास्ता गरेका छन् भने प्रशासनले पनि नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको छैन।

प्रकाशित: २१ मंसिर २०७२ २२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App