२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘खुला सीमा नियमन अनिवार्य’

नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन।  

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयारी पारेको रिपोर्टमा पनि खुला सीमा नियमन र त्यसअन्तर्गत तारबारको कुरा उल्लेख गरिएको छ। तथापि उक्त रिपोर्ट दुवै देशले स्वीकार नगरेको अवस्थामा रिपोर्टमा उल्लेख गरिएको विषय कार्यान्वयनमा आइहाल्ने देखिँदैन। नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्न नेपाली सेना तथा सीमा अनुगमन तथा सर्भे निर्देशनालय आयोजना गरेको दुई दिवसीय सेमिनारमा प्रधानसेनापति प्रभुराम शर्माले सीमा क्षेत्रमा बारबन्देजको कुरा उठाएपछि यो विषय पुनः बहसमा आएको छ।  

सरोकारवाला मन्त्रालय, विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधि तथा विज्ञहरू सम्मिलित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक सेमिनारको समापन समारोहमा प्रधानसेनापति शर्माले बलियो बारबन्देजले बलियो छिमेकी बनाउने अभिव्यक्ति दिएका थिए। सीमा सुरक्षाको जिम्मासमेत पाएको निकाय नेपाली सेनाका प्रमुखको यो अभिव्यक्तिले नेपाल–भारत खुला सीमा नियमनमा नयाँ बहस सिर्जना गरिदिएको हो। सामान्यतया नेपाली सेनाले यस्ता विषयमा सरकारको धारणालाई नै आफ्नो धारणा भएको बताउने गरेको छ।  

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरूमध्ये सीमा सुरक्षाको विषयलाई हर्दम राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको पनि बताएका थिए। उनले समस्या जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नभएको पनि बताएका थिए।  

प्रधानसेनापतिको अभिव्यक्तिलाई जानकारहरूले स्वाभाविक भन्दै जतिसक्दो छिटो सीमा ‘रेगुलेसन’ र बारबन्देज गर्नुपर्ने बताएका छन्।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका नेपालका तर्फबाट सदस्य रहेको सूर्यनाथ उपाध्याय इपिजी रिपोर्टमा समेत ‘डिमार्केसन’को कुरा उल्लेख भएको बताउँदै त्यसअन्तर्गत बारबन्देजको कुरा पनि हुने बताउँछन्। प्रधानसेनापतिको भनाइले पनि नेपाल–भारत खुला सीमा नियमनसँगै बारबन्देजको कुरालाई संकेत गरेको बताउँदै उनी यसलाई जतिसक्दो छिटो अघि बढाउनुपर्नेमा जोड दिन्छन्।  

उनी दुई देशबीच आवतजावतका लागि केही निश्चित ठाउँ मात्र व्यवस्था गर्ने र बाँकी ठाउँमा बारबन्देज गर्नुपर्ने बताउँछन्। उपाध्याय ‘डिमार्केसन’ को कामलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने पक्षमा छन्। ‘यो काम जतिसक्दो छिटो अघि बढ्यो त्यति नै धेरै नेपाललाई फाइदा हुन्छ,’ उपाध्यायले भने। नेपाल–भारत सीमालाई भारतले खुलै राख्न चाहेकाले यो काम अघि बढ्न नसकेको उनको तर्क छ। ‘खुला सीमा हुँदा भारतले नेपालमा हरेक किसिमका हस्तक्षेप गर्न पाउँछ। त्यसैले उसले सीमा नियमनलाई बेवास्ता गर्दै आएको छ,’ उनले भने। नेपाल–भारत सीमा नियमन र बारबन्देजको कुरा हिजो, आज र भोलि पनि उत्तिकै सान्दर्भिक हुने उपाध्यय बताउँछन्।  

भारतका लागि नेपालका तर्फबाट पूर्वराजदूत दीपकुमार उपाध्याय पनि नेपाल–भारत खुला सीमाको नियमन अनिवार्य भएको बताउँछन्। उनी दुई देशबीचको खुला सिमाना नियमनको कुरा भारतीय पक्षले पनि उठाउने गरे पनि व्यवहारमा भने भारत अनिच्छुक रहेको उनी बताउँछन्। उपाध्याय सीमा क्षेत्रमा बारबन्देज गर्ने कुरा एउटा व्यक्ति वा पार्टीले मात्र चाहेर नहुने भएकाले सिंगो नेपाल नै यस विषयमा एक हुनुपर्ने बताउँछन्। उनी नेपालले एकतर्फी रूपमा तारबार गर्दा भारतले दुःख दिने भएकाले भारतको समेत सहमतिमा सीमा क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने उनी बताउँछन्। भारतीय पक्षले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई वैज्ञानिकीकरण र व्यवस्थित गरे पनि नेपालतर्फ भने अस्तव्यवस्त रहेको बताउँदै उनले सार्वभौम मुलुकका रूपमा सीमा व्यवस्थापन वा तारबारको कुरा अनिवार्य रहेको बताए।

प्रकाशित: २५ असार २०७९ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App