७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कर्मचारीलाई धम्काउनेविरुद्ध मुद्दा दायर

हतियारसहित घोडाघोडी नगरपालिकाको कार्यालयमा प्रवेश गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिने तीन जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ।  

घोडाघोडी नगरपालिका–२ साडेपानीका वर्ष ३६ का बिरबहादुर बोहरा, वर्ष ३६ कै रामप्रसाद चौलागाई र वर्ष २८ का भुपेन्द्र रावल विरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्धको मुद्दा दायर गरेको छ।  

मुलुकी अपराध संहिता २०७४ को दफा १२८ बमोजिम तीनै जना उपर मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए। उनले तीनै जनाको म्याद थप समेत भैसकेको बताए।

डिएसपी शाहीले उनीहरुको साथबाट २ थान घरेलु हतियार बरामद भएको बताए। उनले पक्राउ परेका तीनै जनाले मादक पदार्थ समेत सेवन गरेको पाईएको जानकारी दिए।  

उनीहरुले प्रहरीसँगको बयानका क्रममा नगरपालिकासँग रकम भुक्तानी लिनुपर्ने विषयमा विवाद भएर गएको बताएका छन्।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले पक्राउ परेका व्यक्तिहरु रकम भुक्तानीसँग सम्बन्धित नभएको बताए। उनले ती व्यक्तिहरुलाई अरु कसैले प्रयोग गरेको हुनसक्ने आशंका व्यक्त गरे। ‘उनीहरु भुक्तानी पाउन बाँकी व्यक्ति हैनन्’ उनले भने, ‘अरु कसैले प्रयोग गरेको हुनसक्छ।’

उनले लेनदेनको विषयमा कुनै कुरा नगरेर एकाएक कर्मचारीलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको बताए।  

यस्तै विभिन्न राजनीतिक दलहरुले तीनै जनालाई कानूनी कारवाहीको माग गरेका छन। विभिन्न सात राजनीतिक दलहरुले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन्। उनीहरुले जनप्रतिनिधि र कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग समेत गरेका छन्।  

मोटरसाइकल चढेर आएका उनीहरु बुधबार साँझ ६ः५४ बजे घरेलु हतियारसहित नगर कार्यपालिकाको कार्यालयमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख छ। उनीहरुले कर्मचारीहरुलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको बताईएको छ।

सो समयमा नगरपालिकाका प्रमुख खडकबहादुर रावत र उपप्रमुख गुलीयाकुमारी चौधरी आफ्नो कार्यकक्षमा बैठकमा थिए। राजनीतिक दलहरुले कार्यालयभित्र यस्तो घटना भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरुले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका जोसुकैलाई कारवाही गर्न माग गरेका छन्।  

विज्ञप्ती जारी गर्नेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

नगरपालिकाले समेत घटनामा संलग्न सबैलाई कडा कानूनी कारवाहीको माग गरेको छ। नगर प्रमुख रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कारवाहीको माग गरेको हो।

प्रकाशित: २३ असार २०७९ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App