१० असार २०८३ बुधबार
image/svg+xml
समाज

योगमायाको योगदान अतुलनीय

महिला आन्दोलनकी प्रथम आन्दोलनकारी योगमायाको योगदान नेपालमा मात्र नभई विश्वमै अतुलनीय रहेको महिला नेत्रीहरूले बताएका छन्। बुधबार ‘योगमाया स्मृति दिवस’ का अवसरमा उनीहरूले योगमायाको योगदानबारेमा विस्तृत अनुसन्धान हुन नसेकेको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालमा महिलामाथिको हिंसाको विरोधमा सामूहिक रूपमै आत्मदाह गरेकी योगमायाको संघर्षबाट प्रेरणा सिकेर महिला आन्दोलन निरन्तर अघि बढ्नुपर्ने बताइन्। ‘महिला आन्दोलनको लामो संघर्षबाट अहिले ३३ प्रतिशत उपलब्धि प्राप्त भएको हो, यसलाई ५० प्रतिशतमा पुर्‍याउन अर्को आन्दोलन जारी राख्नुपर्छ’, मन्त्री रेग्मीले भनिन्। महिला आन्दोलनको पुरानो इतिहास पढिरहनुभन्दा नयाँ इतिहास लेखिने गरी आन्दोलन अघि बढाउनुपर्ने उनको सुझाव छ।

सोही क्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले योगमायाको योगदानको कदरस्वरूप आयोगले गत वर्षदेखि योगमाया स्मृति दिवस मनाउन सुरु गरेको र ‘योगमाया नारी जागरण कार्यक्रम’ सुरु गरेको बताइन्। गत वर्ष महिला हिंसाविरुद्धको सोह्रदिने अभियानका क्रममा आयोगले योगमायाको समाधिस्थलमा पुगेर अभियान मनाएको थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य लिली थापाले योगमायालगायतका महिला नेत्रीका विषय विश्वविद्यालयका पाठ्यक्रममा राख्नका लागि संघर्ष गर्नुपरेको बताइन्। ‘नेपाली महिलाले विश्वका महिलाको जत्तिकै योगदान गरेका छन्। यसको अनुसन्धान गरी पाठ्यक्रममा समावेश गर्नुपर्छ’, उनले भनिन्।

नेपाल रेडक्रस सोेसाइटीकी उपाध्यक्ष शर्मिला कार्कीले योगमायाले महिला आन्दोलनका विविध पक्षमा न्यायिक आवाज उठाएको स्मरण गरिन्। ‘गरुड पुराणले विधवा महिलामा पारेको असरबारेमा पनि बोलकी थिइन्, जातीय विभेद हुँदा दलितकी छोरीलाई सम्झाएकी थिइन्’, उनले भनिन्।

योगमाया स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन बस्नेतले योगमायाको योगदानबारेमा जानकारी पत्र प्रस्तुत गरे। प्रस्तुतिका क्रममा योगमायाले नेपालमा राणाशासनकालमा महिलामाथिको हिंसा विरोध गर्दा चरम यातना झेल्नुपरेको स्मरण गरे।  

१४ वर्षको उमेरमा विधवा बनेकी योगमाया मध्यरातमा माइती पुगिन्। माइतीमा पनि उपेक्षा भएपछि आसाम बस्दै आएका कँडेलको सहयोगमा आसाम पुगेकी थिइन्। आसाममा पुगेर विवाह गरेकी योगमायाले सन्तानका रूपमा एक छोरी जन्माइन्। उनले सोही ठाउँमा जोसमनी धर्ममा सहभागी भई योग साधना गर्दै रहिन्। राणाशासनको शोषणविरुद्ध कवितावाचन गरेपछि उनीसहित २ सय ४० जनाले यातना पाएका थिए।

धार्मिक विरोधले सम्भव नहुने देखेपछि राणाशासनविरुद्ध भोजपुरको मजुवाबेंसीको कोटिहोम त्रिवेणी संगममा १९९८ साल असारमा योगमायासहित ६८ जनाले अरूण नदीमा जल समाधि लिएका थिए।

प्रकाशित: २३ असार २०७९ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App