२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नमुना बस्ती नै जोखिममा

दैलेखको सदरमुकामस्थित गणेश चोकमा बादी समुदाय बसोबास गर्दै आएको नमुना बस्ती पहिरोको उच्च जोखिममा रहेको छ। बस्ती माथि बजार तल भिरालो जमिनमा सडक भएकाले नमुना बस्ती जोखिममा परेको हो।

वर्षासँगै खुकुलो माटो बग्ने जोखिम बढी हुँदा बस्ती नै जोखिममा रहँदै आएको छ। पहिरोले बर्सेनि घर छोप्ने गरेपछि स्थानीय क्रसित छन्। नमुना बस्तीमा रहेका ६५ मध्ये ६० घर नै जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयमा पटकपटक सर्वपक्षीय बैठक बसी बैकल्पिक उपायसमेत निकालिएको थियो। बर्खा सुरु भएसँगै घरहरू जोखिममा हुने गर्दछन्। विगतमा वर्षासँगै बस्तीका केही घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने र वर्षा सकिएपछि प्रशासनले फर्काउने गरेको थियो। हरेक वर्ष सचेत भई सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले नमुना बस्तीका परिवारलाई आग्रह गर्दै आएको छ।

भिरालो भाग र बस्तीमुनि सडक भएकाले बर्खामा नमुना बस्ती जोखिममा हुने गरेको हो। बर्सेनि बस्तीमा आउने पहिरोले घर भत्कने र चर्कने गर्दछ। फेरि हिउँद लागेसँगै घर पुनर्निर्माण गरिन्छ। वर्ष दिनअघि पहिरोले १५ घर चर्किएको थियो। नमुना बस्तीमा पहिरो न्यूनीकरणका लागि सरोकारवाला निकायले पहिरो नियन्त्रणका लागि बेवास्ता गर्दा बस्ती जोखिममा रहेको स्थानीय बादी समुदायकी अगुवा पौवा बादीले बताइन्।

आफूहरूलाई बर्सेनि पहिरोले दुःख दिने गरेको उनको भनाइ छ। चार वर्षअघि बस्तीमा पहिरो जाँदा तीनजनाको मुत्यु भएको थियो। बादी समुदायमा ६५ घर छन्; जसमा ६० घर जोखिममा छन्। नमुनाबस्ती नै पहिरोले भासिन थालेपछि धेरैले थाकथलो नै छाडेका छन्।

पानी परेपछि निद्रा नै हराउने गरेको टेकबहादुर बादी बताउँछन्। १९ वर्षअघि पत्रकार डेकेन्द्रराज थापाले बादी बस्ती बसालेका थिए। त्यतिबेला सानो बस्ती बसालिएको थियो। पछिल्ला वर्षमा चार गुना बढी घर बनेसँगै पहिरोको जोखिम बढेको हो।

प्रकाशित: २२ असार २०७९ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App