३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

‘धरान–बराहक्षेत्र–रामधुनी धार्मिक सर्किट’ बनाइँदै

सुनसरीका एक उपमहानगरपालिका र दुई नगरपालिकामा नाम चलेका धार्मिक स्थललाई जोडेर सर्किट बनाइने भएको छ।

जिल्लाका नाम चलेका धार्मिक स्थलमा बराहक्षेत्र मन्दिर, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिव जट्टा, पाँचकन्या र विष्णुपादुका मन्दिर तथा रामधुनीका मन्दिर छन्। यीमध्ये तीनवटै पालिकामा रहेका धार्मिक क्षेत्रलाई यातायातले जोडेर सर्किट बनाउन लागिएको हो। सर्किट बनाउन रामधुनी, बराहक्षेत्र र धरानका प्रमुखबीच संयुक्त बैठक बसेर संघीय सरकारलाई योजनासमेत पेस गर्ने निर्णय गरिसकेको बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए।

धरानमा नाम चलेका धार्मिक स्थल धेरै छन्। बराहक्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ। मेलाबाहेक वराहक्षेत्र मन्दिर पनि नाम चलेको मन्दिर हो। कुम्भ मेलाबाट साराका लागि पुण्यप्राप्ति हुने विश्वास छ। कुम्भ भनेकै स्नानको महत्व हो। त्यसैले गर्दा कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ। रामधुनीको वडा ४ मा रहेको मन्दिरको इतिहास त्रेता युगमा भगवान् राम आएर बसेको स्थानका रूपमा चिनिन्छ। रामधुनीमा अस्ना प्रजातिका मुढा निरन्तर जलाइन्छ। त्रेता युगदेखि अहिलेसम्म त्यहाँ आगो ननिभेको विश्वास गरिन्छ।

भगवान् राम भारतको आयोध्यापुरबाट जनकपुर हुँदै पूर्व आएका बेला बास बसेको स्थान रामधुनी भएको किंवदन्तीमा रहेको छ। रामले बालेको आगो निभ्न नदिईकन बाबा वनखण्डीले त्यसलाई उजागर गरेको पाइन्छ। यसको काठको बिगुत प्रसादका रूपमा लगाउने चलन छ। सखुवामा आँप फल्छ भन्ने किंवदन्ती पनि रहेको पाइन्छ।

रामधुनी मन्दिर परिसरमा पोखरी पनि छ। यसलाई सीता कुण्ड भनिन्छ। रामधुनीमा बालाचतुर्दशी, रामनवमी, शिवरात्रि र साउन महिनाको हरेक सोमबार मेला लाग्ने गर्छ। ‘धरान, बराहक्षेत्र र रामधुनीलाई सर्किटले जोडेमा सुनसरी धार्मिक र पर्यटकीय स्थलका रूपमा चम्किने विश्वास छ,’ बराहक्षेत्रका मेयर कार्कीले भने।

प्रकाशित: २० असार २०७९ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App