अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका नगरपालिका प्रमुख अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरोपित मेयर चलाउने र नेत्र शाहीलाई शनिबार नियन्त्रणमा लिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। शाहीको हत्यामा संलग्न भएको दाबी गर्दै आफन्तले मेयर चलाउनेसहित १३ जनाका नाममा किटानी उजुरी दिएका थिए। प्रहरीले यो प्रकरणमा यसअघि पाँचजनालाई नियन्त्रणमा लिएको छ। किटानी उजुरीमा आरोपित अन्यको खोजतलास भइरहेको छ।
‘मेयर चलाउनेलगायतसँग सोधपुछ भैरहेको छ,’ प्रहरी नायब उपरीक्षक डाँगीले भने, ‘घटनाको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ, केही दिनमै अनुसन्धान प्रतिवेदन तयार हुन्छ।’ चलाउने नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन्।
यस्तो थियो घटना
स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो। विवाद र झडप भएपछि करिब तीन घन्टा मतदान स्थगित भयो। सोही विषयलाई लिएर कांग्रेस र एमाले कार्यकर्ताबीच पुनः कुटपिट भयो। कांग्रेसका कार्यकर्ताले दिएको उजुरीका आधारमा जेठ १७ गते प्रहरीले एमालेका कार्यकर्तालाई पक्राउ गर्न खोज्यो। प्रहरीले पक्राउ गर्न खोजेपछि एमालेका कार्यकर्ताले अवरोध खडा गर्दा झडप भएको थियो।
त्यसै दिन बेपत्ता भएका विनोद २१ गते घरभन्दा करिब ५ सय मिटर टाढा रहेको भीरमा मृत अवस्थामा फेला परेका थिए। विनोदको हत्या गरेर शव भीरमा फालेको दाबी गर्दै आफन्तले ५ दिनसम्म शव बुझ्न इन्कार गरेका थिए। विनोदको हत्या गरेको आरोप लगाउँदै पीडित पक्षले मेयर चलाउनेसहित १३ जनाका नाममा किटानी उजुरी दिएको थियो। यो घटनाको विषयमा सडकदेखि सदनसम्म अबाज उठे पनि प्रहरीले अहिलेसम्म यथार्थ पत्ता लगाउन सकेको छैन। यस विषयमा अध्ययन भइरहेको प्रहरीले बताउँदै आएको छ।
घटनाको अनुसन्धानमा सिआइबीका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट र संघीय प्रहरी एकाइ कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेय नेतृत्वको टोली पनि खटिएको छ।
प्रकाशित: २० असार २०७९ ०२:०० सोमबार