‘एनसेल लक्की ड्र’को नाममा ठगी गर्ने एक जना फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ बस्ने वर्ष ६५ का गणेश सहनी भन्ने गणेश चौधरीलाई ‘ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दा’मा अदालतबाट कसुर ठहर भएर फरार रहेको ब्यक्तिको रुपमा प्रहरीले पक्राउ गरेको हो।
पर्साको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले शुक्रबार उनकै घरबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।
२०७१ चैत ०३ गते बाग्लुङ जिल्लाको पाण्डवखानी–१ स्थायी घर भई पोखरा–१६ बस्दै आएकी रिता श्रेष्ठसंग ‘एन सेल लक्की ड्र’मा छानिको भन्दै गणेशले पैसा ठगी गरेका थिए। रिताकै जाहेरीले वादी नेपाल सरकार भएर पर्साको साबिक गाउँ बिकास समिति वडा नं.५ (हाल पटेर्वा सुगौली–१) घर भएका गणेश उपर मुद्दा चलेको थियो।
पर्सा जिल्ला अदालत वीरगन्जको मिति २०७३ असार २९ गतेको फैसलाले आरोपीउपर कसूर ठहर भयो। यस मुद्दाको पुनरावेदन भएर सुनुवाई हुँदा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको मिति २०७५ जेठ ८ गतेको फैसलाले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रकाशित: १८ असार २०७९ १५:५१ शनिबार




