१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छोराको उपचार गर्दागर्दै साढे १५ लाख ऋणसहित सुकुम्बासी बनेका दम्पतिको दर्दनाक व्यथा!

न छोरा ठीक भयो, नत थप उपचार नै गर्न सकियो

दीपकको अवस्था र उद्धार प्रयासका बारेमा दीपकका बुवाआमासँग भलाकुसारी गर्दै पालिका अध्यक्ष पोमू र उपाध्यक्ष आङबुहाङ। साथमा थुनिएका दीपकको अवस्था बुझ्दै आठराइ त्रिबेणी गा.पाका जनप्रतिनिधि।

‘माया त लाग्छ नी, तर के गर्नु न हामी उसको उपचार गर्न सक्छौं, नत उसलाई सध्ये अवस्थामा देख्न नै सक्छौं’ मानसिक सन्तुलन गुमाएका छोराको उपचारमा श्रीसम्पत्ति गुमाए पनि छोराको दैनिकी सहज नहुँदाको पीडाले थलिएकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीकी नरमाया भट्टराईको यस्तो बिलौनाले जो कोहीलाई भावुक बनाउँछ।

उपचार गर्दागर्दै आफ्नो भएको खेतबारी पनि गुम्यो। गोठमा बाँधिएका बस्तुभाउ पनि सकिए। थाप्लोमा साढे १५ लाख रुपैयाँको ऋणको बोझले मनभारी बनेका डिल्लीराम भट्टराईलाई यो बेला लक्का जवान छोरा दीपक भट्टराई कोठामा थुनिएर बसेको कथा सुनाउनुपर्दा आँश्रुधारा बग्छ। ‘नथुनौं आफैंमाथि आइलाग्छ, कोही देख्नै हुँदैन, जे भेट्यो, उसैले हान्छ’ उपचार गर्नलाई अब आफ्नो बुताले भ्याएन’ डिल्लीरामले भने।

उपचार र औषधिको प्रबन्ध हुँदासम्म कोठामै थुनेर राख्नुपर्ने अवस्था नहुने गरेको सुनाउँदै भट्टराईले भने ‘मेरो अन्तिम उपाय नै यही बन्यो, भित्रै खान दिन्छु, त्यही खान्छ बस्छ।’ उपचारको अभावमा एक युवा कोठामै थुनिएको सुनेपछि तत्काल उद्धार गर्ने प्रयास स्वरुप भट्टराईको घर पुुगेका आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) र शान्ताकुमारी आङबुहाङसहितका जनप्रतिनिधिलाई डिल्लीरामले व्यथा बिसाउँदै भने ‘अन्तिम उपाय केही भए गर्दिनु होला, ठूलै धर्म हुन्छ।’

डिल्लीरामका अनुसार छोराको उपचारका लागि ऋण माग्दा समेत कसैले पत्याउन छाडेपछि २०७६ सालबाट भने बिरामी दीपक उपचार विहीन छन्। छोरा ठीक होला र त्यसपछि कमाइ गरौंला भन्दाभन्दै डिल्लीरामले आफ्नो नाममा रहेको ८ रोपनी जग्गा बेचे, गोठमा रहेका गाइ, भैंसी र बाख्राहरु समेत आफ्ना लागि राखेनन्। पछि तिरौंला भन्दै आफन्त र छिमेकीबाट साढे १५ लाख रुपैयाँ ऋण काढेर छोराको उपचार तथा औषधिमा खर्चिए। तर छोरा ठीक भएनन्।

‘नियमित उपचार गर्न र औषधोमूलो गर्न पाएको भए त यस्तो हुने थिएन जस्तो लाग्छ’ डिल्लीराम भन्छन्। आफ्ना नाममा एक टुक्रा जमिन र एक सुक्को कहीँ बचत नभएको सुनाउँदै उनले उपचारकै अभावमा छोरालाई कोठामा थुनेर राख्नु नै उपचार जस्तो गरी बस्नु बराबर रहेको बाध्यता सुनाए। बुवा डिल्लीरामका अनुसार गत कात्तिक देखि भने छोरा दीपक बस्ने कोठा खोलिएको छैन। सुरुमा २–२ दिनमा शरिर र कोठा सफा गरिदिने, कपडा फेरिदिने गरेपनि अहिले त्यो सम्भव नभएको डिल्लीरामले जानकारी दिए।

‘म बुढोले एक्लै उसलाई समाउनै सक्दिन, निस्कयो भने मारिहाल्छ, लगाएको कपडा च्यातेर फालिहाल्छ, उपचार नपाएर यस्तो समस्या परेको पनि थाह छ’ डिल्लीरामले भने ‘अनि यसो झ्यालबाट खान दिन्छौं अरु केही सीप नै छैन।’ २०४६ सालमा जन्मिएका दीपकमा २०५९ सालदेखि भने स्वास्थ्य समस्या देखा पर्‍यो। आमा नरमायाका अनुसार घरमा एक दाजुभाइ र तीन दिदीबहिनी गरी चार सन्तान जन्मिएका हुन्।

सुरुमा दीपक तिक्ष्ण बुद्धिका थिए। घरको काममा मरिहत्ते गर्थे। विद्यालयबाट घरमा आउँदा खाजा भनेको चिया बाहेक अरु कहिल्यै हुदैनथ्यो। तर दीपकले कहिल्यै पनि यस्तो र उस्तो चाहियो भनेर बुबाआमालाई दबाव दिएनन्। ‘मलाइ छोराको त्यो गुण र स्वभाव अहिले पनि देख्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ’ यति नभन्दै आमा नरमाया भकानिन्छन्। दीपकका बुवा डिल्लीरामले छोराइए उपचारका लागि धरानको घोपा, दमकसहितका शहरमा पुर्‍याए।

‘उपचारका लग्यो, औषधि ल्यायो खुवायो, फेरि उही..! लामो समयको दैनिकी उनले यसरी सुनाए। औषधि खुवाइञ्जेल केही ठीक जस्तो देखिएको छोराको उपचार आफ्नो आर्थिक स्थितिले भ्याउन छाडेपछि बिग्रन थालेको डिल्लीरामले बताए। अन्य ठाउँमा उपचारका लागि लैजान स्थानीयले दिएको सल्लाह खर्च अभावले नै आफूले पूरा गर्न नपाएको उनले बताए। यो अवस्था थाहा पाए लगत्तै अवस्था बुझ्न र स्थानीय सरकारका तर्फबाट गर्न सकिने उद्धारको पहल गर्न गाउँपालिका अध्यक्ष पोमू, उपाध्यक्ष आङबुहाङ र फूलबारीका वडाध्यक्ष टीकेन्द्र सेन्दाङले दीपकका विषयमा बुझ्न उनको घर पुगेका छन्।

‘अवस्था जटिल भएको थाहा पायौँ, स्थानीय सरकार दीपकको उपचारका लागि गर्न सकिने विषयमा हदैसम्म सम्वेदनशील भएर अग्रभागमा उभिन्छ’ पालिका अध्यक्ष पोमूले भने। उनले सबै मिलेर यसको समाधान खोज्नु अनिवार्य रहेको बताउँदै पालिकाले यस विषयलाई गम्भीर रुपमा लिएर सहयोगमा अग्रसर बन्ने आश्वासन पनि दिएका छन्।

उपाध्यक्ष आङबुहाङले दीपकको अवस्था जानकारी पाए लगत्तै पालिकाले उद्धार तथा उपचारका लागि अग्रसरता देखाएको बताइन्। ‘पालिकाले गर्न मिल्ने जति सहयोग गर्छ, त्यही भएर चासो पनि दिएको हो’ पालिका अध्यक्ष पोमूले भने। उनको व्यवस्थित उपचार र सामाजिक पुर्नस्थापनाका लागि अन्य सामाजिक संस्थाहरुले पनि अग्रसरता लिनुपर्ने इन्सेक जिल्ला प्रतिनिधि देवराज गुरुङले बताए।

प्रकाशित: १८ असार २०७९ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App