ताप्लेजुङ जिल्लाको विपद प्रतिकार्य योजना २०७९ स्वीकृत भएको छ। फुङलिङ नगरपालिकासहित स्थानीय तहका प्रमुख/अध्यक्षसहित सरोकारवाला सम्मिलित जिल्ला विपद व्यवस्थापन समितिको बैठकले विपद प्रतिकार्य योजना २०७९ लाई स्वीकृत गरेको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
जिल्ला विपद व्यवस्थापन समितिले पहिरोका कारण विस्थापित भएका परिवारहरुको विवरण सम्बन्धित स्थानीय तहबाट माग गर्ने निर्णय पनि गरेको छ। सम्बन्धित स्थानीय तहको कार्यपालिकाको बैठकले अनुमोदन गरी सिफारिस गरेका पहिरोबाट पूर्ण रुपमा विस्थापित परिवारको विवरण नेपाल सरकार गृह मन्त्रालयमार्फत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने तयारी भएको समेत प्रजिअ पोखरेलले जानकारी दिए।
जिल्ला विपद व्यवस्थापन समितिले २०७८ पुस ८ गते बसेको बैठकको निर्णय अनुसार विपद पीडित परिवारलाई प्रदान भएको राहत वापतको ९ लाख ६ हजार ५ सय ९६ रुपैयाँ अनुमोदन गरेको छ।
प्रकाशित: १५ असार २०७९ ०८:३१ बुधबार