२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

स्कुल बसले ठक्कर दिँदा १ जना बालकको मृत्यु

मोरङको रंगेली नगरपालिका–७ मा रहेको माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा मंगलबार १ जना बालकको मृत्यु र १ जना बालिका घाइते भएकी छन्।  

को १ क ११३० नम्बरको स्कुल बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत बालबालिका घाइते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रंगेली–७ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मृत्यु भएको बताए। उनका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्थानीय टायम्स अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरे। 

 एलकेजीमा अध्ययनरत रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएककी छन्। रंगेलीमा उपचार नभएपछि थप उपचारका लागि विराटनगर ल्याइएको छ। स्कुल छुट्टी भएपछि घरतर्फ जाँदै गरेका बालबालिकालाई स्कुल अगाडि नै बसले पछाडिबाट ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि बसलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

घटनापछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रेका थिए। उनीहरुले विद्यालय तथा चालकको लापरबाहीका कारण घटना भएको बताएका छन्। घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेपछि बजार क्षेत्र तनावग्रस्त बनेको थियो। दुर्घटनापछि आक्रोसित समूहले स्कुलको अर्काे बस तोडफोड गरिदिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०७९ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App