coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अमरेन्द्र ठाकुर हत्या प्रकरण: दुई अभियुक्त पक्राउ

सर्लाहीको कविलासी नगरपालिका ८ को अगर्वामा गत मंगलबार घाँटी रेटेर भएको हत्याका दुई अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

अगर्वा चौकमा नै फर्निचर व्यवसाय गरेर बसेका स्थानीय २४ वर्षीय अमरेन्द्र ठाकुरको गत मंगलबार हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो। घटनामा संलग्न रहेको अभियोगमा सर्लाही प्रहरीले मृतक ठाकुरका सहोदर भाइ अमरकान्त ठाकुर र स्थानीय रुपेशकुमार चौधरीलाई पक्राउ गरेको छ।  

घटनाको अनुसन्धानको क्रममा नेपाल प्रहरीको कुकुरले गरेको संकेत, घटनास्थल जनिकका स्थानीय मानिसहरुसितको सोधपुछ तथा विश्लेषणबाट आएको तथ्यलाई प्रविधिको माध्यमले जाँचबुझ गरेर दुवै अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

असार ६ गते सोमवार साँझ अमरकान्त ठाकुर र मृतक अमरेन्द्र ठाकुरबीच विवाद भएको थियो। दाजु भाइबीच भएको विवादलाई भाइले गाउँकै आफनो साथी रुपेशकुमार चौधरीसित मिलेर अमरेन्द्र ठाकुरलाई मार्ने योजना बनाएर सोही रात आठ बजे खानपिनको व्यवस्था छ भनेर बोलाएर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको सर्लाही प्रहरीको भनाइ छ।  

झुक्याएर अगर्वा चौकभन्दा केही पश्चिम एकान्तमा अमरेन्द्र ठाकुरलाई बोलाएको र धारिलो हतियार र ढुंगाले शरीरको विभिन्न भागमा प्रहार गरी भुँइँमा लडाएर घाँटीमा प्रहार गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको हो। घाँटीमा प्रहार गरी कर्तव्य गरी मारी लास सडकदेखि उत्तरतर्फ सुख्खा कुलोमा फालेको अनुसन्धानबाट खुल्न आएकोले घटनामा संलग्न रहेको देखिएका अमरकान्त ठाकुर र रुपेशकुमार चौधरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान कार्यलाई प्रहरीले अगाडि बढाएको हो।

सर्लाही जिल्लाबाट सात दिनको म्याद थप गरी दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि माधवप्रसाद दुलालले जानकारी गराएका छन्।

प्रकाशित: ११ असार २०७९ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App