८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिककर्मी सुनार पुरस्कृत

नागरिककर्मी पवित्रा सुनार यस वर्षको राष्ट्रिय स्वास्थ्य पुरस्कारबाट पुरस्कृत भएकी छन्।

सुदर्शन शारदा देवकोटा स्मृति फाउन्डेसनद्वारा स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा स्थापित यो पुरस्कार बुधबार स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले सुनारलाई हस्तान्तरण गरेका हुन्। पुरस्कारको राशि ३० हजार रूपैयाँ रहेको छ। गत वर्षदेखि वितरण गर्न सुरु गरिएकोमा यो वर्ष सुनार छनोट भएकी हुन्।

पत्रकारितामा सक्रिय पिता सुदर्शन देवकोटाको स्मृतिमा सो पुरस्कार वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष डा. देवकोटाले जनाएकी छन्। स्वास्थ्य पत्रकारितामा लामो समयदेखि योगदान पुर्‍याएका पत्रकारहरूलाई निरन्तर प्रदान गरिने डा. देवकोटाले जनाएकी छन्।

डा. देवकोटाले सर्वसाधारणलाई कुनै पनि रोगको महामारीबाट बचाउन स्वास्थ्य पत्रकारहरूको ठूलो भूमिका हुने बताइन्। ‘मुख्य कुरा स्वास्थ्य पत्रकारिताले जनस्वास्थ्य क्षेत्रमा योगदान पुग्छ,’ उनले भनिन्। कार्यक्रममा राज्यमन्त्री खापुङले स्वास्थ्य पत्रकारहरूले कोभिड १९ महामारीका बेला स्वास्थ्य समाचार सम्प्रेषणमा पुर्‍याएको योगदानको स्मरण गरे। ‘विकसित मुलुकमा समेत धेरै मानवीय क्षति भएको अवस्थामा हाम्रो कम क्षति भएको देखिन्छ,’ उनले भने।

कार्यक्रमका अतिथि कान्तिपुर दैनिकका सहसम्पादक उमेश चौहानले स्वास्थ्य पत्रकार मानव जीवनसँग जोडिएको स्वास्थ्य मुद्दालाई उठाउन स्वास्थ्य पत्रकारलाई आग्रह गरे। ‘पुरस्कारका लागि काम हैन, कामबाट पुरस्कृत हुने बाटोमा अघि बढ्नुपर्छ,’ उनले भने। सोही क्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले यस्तो पुरस्कारले पत्रकारहरूलाई काम गर्न थप हौसला मिल्ने हुनाले यो पुरस्कारले निरन्तरता पाउने बताए। फाउन्डेसनका तेजकुमार बास्तोलाले अक्षय कोष नै स्थापना गरी यो पुरस्कारलाई निरन्तरता दिइने बताए। ‘क्रियाशील पत्रकारलाई प्रोत्साहित गर्न स्वास्थ्य पत्रकार मञ्चसँग मिलेर काम गर्ने छौं,’ उनले भने।

प्रकाशित: ९ असार २०७९ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App