रौतहटको गुजरा नगरपालिकामा पीडितको मुद्दा दर्ता भए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाउँदा पीडित झन् मर्कामा परेका छन्।
गुजरा नगरपालिका ४ का शेख ओसी अख्तरले इलाका प्रहरी कार्यालय विजयपुरमा वडाध्यक्षसहित ६ जनामाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरको मुद्दा दर्ता गराएका भए पनि प्रहरीले कारबाही अगाडि बढाएको छैन।
प्रहरीले कारबाही अगाडि नबढाउँदा वडाध्यक्ष झम्कप्रसाद चौलागाईँ, शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजमिल, सेराज भन्ने मतिउर रहमान तथा मुस्तुफा भन्ने शेख उस्तफर खुलेआम घुमिरहेका छन्। ज्यान मार्ने उद्योग गर्नेहरु खुलेआम घुमिरहँदा र प्रहरीले कारबाही नगर्दा पीडित परिवारलाई झन् पीडा भएको बताएका छन्।
गत स्थानीय चुनावको नतिजा प्रकाशन भएपछि जितको र्याली निकाल्दा दुई पक्षबीच विवाद भएको र विवादले उग्र रुप लिएको थियो। सोही क्रममा वडाध्यक्ष पक्षधरहरुले बाँसको फराठाले निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट पाँच जना घाइते भएका थिए।
घाइतेहरुको नाम र विवरणसहित पीडितले आफ्नो घरमा रहेको दुई ओटा मोटरसाइकलमा दुई लाखको क्षति पुर्याएको, घरमा राखेको टेक्टरलाई तोडफोड गरेको, घरको टायल तोडफोड गरेको बताएका छन्। करिब साढे दुई लाखको भौतिक क्षति पुगेको पीडितको भनाइ छ।
प्रहरीमा मुद्दा दर्ता रहेको तर कुटपिट गर्नेहरु खुलेआम घुमिरहेकाले आफूहरु त्रसित भएको पीडितको भनाइ छ।
जाहेरी दर्ता भएकाले प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको र कानुनी प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले जानकारी गराएका छन्।
प्रकाशित: ३१ जेष्ठ २०७९ १३:५० मंगलबार