१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आत्महत्या गरेकी भनिएकी युवतीको मृत्यु शंकास्पद

रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु शंकास्पद देखिएको छ। तिलोत्तमा नगरपालिका १६ सेमराचौकी की २५ वर्षीया सुविना गिरीले आत्महत्या गरेको परिवारले जनाएको छ। तर, माइती र स्थानीयले भने सुविनाको मृत्यु शंकास्पद रहेको बताएका छन्।

सुविनाका पती सन्जु गिरीले सुविनाको शव गएराती झुण्डिएको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको दाबी गरेका छन्। सन्जुले आफूहरुले संचालन गरेको होटलमा गएराती करिब १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेपछि तत्काल अस्पताल लगेको बताएका छन्।

प्रहरीका अनुसार सुविनालाई गएराती २ बजे मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो। तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन्। सुविनालाई झुण्डिएको अवस्थामा फेला पर्दा र अस्पताल पुर्‍याउँदासम्म पनि नजिकैका छिमेकी र आफन्त कसैलाई थाहा नदिइएको र कसैले सुइकोसम्म पनि नपाएको भन्दै स्थानीयले सुविनाको मृत्यु शंकास्पद रहेको बताएका हुन्।  

सुविनाका माइतीले पनि उनको शरीरभरी निलडाम रहेको दाबी गर्दै उनको हत्या गरिएको आशंका गरेका छन्। माइती पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान थालिएको र सत्यतथ्य बाहिर ल्याउने जनाएको छ। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको र अनुसन्धान थालिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

मृतकका दुई जना नाबालक छोराछोरी छन्।

प्रकाशित: ३१ जेष्ठ २०७९ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App