१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बागलुङको बजार, पँधेर्नीलाई दुःख हजार!

बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय बागलुङ। तस्बिर: संगम/नागरिक

बागलुङको बजार  

पँधेर्नीलाई दुःख हजार  

जनकविकेशरी धर्मराज थापाले बागलुङमा पानीको दुःख देखेपछि २०१३ सालमा बागलुङ आउँदा बागलुङको नारायणचोकमा गाएको गित हो। धर्मराज थापाले गित गाएको करिब सात दशक पुग्न आँटेको छ। तर बागलुङमा पधेर्नीको दुःखमा खासै भिन्नता आएको छैन। 

अहिले पनि बागलुङमा खानेपानीको समस्या उस्तै छ। त्यसमाथी बर्खा लाग्यो कि त बल्ल तल्ल आउने पानी पनि लेदो मिसिएर आउँछ। पानीको खोजीमा यहाँका उपभोक्ता र पँधेर्नीहरु ग्यालिन र गाग्री बोकेर उपल्लाचौर र तित्याङ धाउने गर्छन्। विगत एक महिना यता बागलुङ बजारमा सफा पानी वितरण भएको छैन। दैनिक जसो वर्षा भैरहँदा बागलुङमा बजारका धारामा धेरै समय त पानी नै आउँदैन।

आइहाल्यो भने पनि धमिलो पानी आउने गर्छ। यही समस्या समाधानको माग गर्दै बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा उपभोक्ताहरु पुगे। सफा पानी पाउनुपर्ने माग गर्दै पुगेका उपभोक्तालाई संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले त्यही पुरानो धर्मराज थापाले गाएको गित सुनाएर पठाए। खानेपानीको समस्या समाधानका लागि पुगेको उपभोक्ता उनको कुरा सुनेर रनभुल्ल परेर फर्के। सफा पानी माग्न पुगेको उपभोक्तालाई उनले धर्मराज थापाको गीतसँगै बागलुङको खानेपानीको इतिहास सुनाए। तर तत्काल बागलुङ बजारमा वितरण गर्ने खानेपानीको गुणस्तर कायम गर्नका लागि कार्यालयले के गर्छ भन्ने कुरा गरेनन्।  

‘यहाँ नजिकमा खानेपानीको मुहान छैन, टाढाबाट ल्याउनुपर्छ, घोडाबाँधेमा पानी पर्‍यो भने पनि हाम्रो धारामा पानी धमिलो आउँछ,’ उनले भने,‘तीन चारतीरबाट पानी ल्याउनुपरेका कारण समस्या समाधान गर्न गाह्रो भएको छ।’ संस्थाले सुद्ध पानी वितरणका लागि प्रयासै नगरेको भने नभएको दाबी गरे। ‘तपाईहरु खानेपानीको समस्या लिएर आउनुभएको छ, तालुकदार संस्था भएकाले तपाईहरु यहाँ आउनु स्वभाविक पनि हो,’ उनले भने,‘हामीले केही कोसिस गरेका छौं तर पनि सफल भैएको छैन।’ लिफ्टीङ खानेपानी आयोजना सम्पन्न नभएसम्मका लागि यो समस्या समाधान नहुनेतर्फ उनले संकेत गरे।

‘बागलुङ बजारबासीलाई सफा पानी खुवाउनका लागि हामीले ठूलो लिफ्टीङ खानेपानीयोजना सञ्चालन गरेका छौं,’ उनले भने,‘ठेकेदारका कारण दुई वर्षमा हुने काम चार वर्षमा पनि सकिएको छैन। अझै २० प्रतिशत काम बाँकी छ। त्यो पूरा भयो भने मागे जति राम्रो पानी उपलब्ध गराउन सकिनेछ। सफा खानेपानी माग गर्दै गएको बागलुङ नगरपालिका-२ मा व्यवसाय गर्ने डिल्लीप्रसाद गौतमले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर लाहपरबाही भैरहेकोले तत्काल सुधार गर्न माग गरे। ‘यहाँको उपभोक्ताले सफा स्वच्छ खानेपानी पिउन पाउनुपर्छ,’ उनले भने,‘धमिलो पानी वितरण गरेर यो खानेपानी संस्थाले आम उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड गरेको छ। यसलाई तुरुन्त रोकेर सुधारको काम थाल्नुपर्छ।’

मानव स्वास्थ्यसंग जोडिएको खानेपानी संस्था नै यहाँको उपभोक्ताप्रति जिम्मेवार नभएको उनको गुनासो छ। ‘जिम्मेवार निकाय गैरजिम्मेवार तवरले प्रस्तुत भैरहेको छ, यो ठिक भएन,’ उनले भने। बागलुङ नगरपालिका-४ का प्रकास जिसीले आम उपभोक्ताको धारोमो वितरण भैरहेको पानी उपभोक्ता संस्थाका व्यक्तिहरुले पिउँछन् कि पिउँदैनन् भनेर प्रश्न गरे। ‘जून पानी तपाईहरुले धारोमा वितरण गर्नुभएको छ,’ उनले भने,‘यो पानी तपाईहरुले पिउनुहुन्छ कि हुँदैन? आम नागरिकले हरदम उपभोग गर्ने पानीमा यस्तो खालको लाहपरबाही गर्न पाईन्छ?’  

उपभोक्ताहरुको कुरा सुनेपछि बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङका प्रवन्धक हिमाल शर्माले बर्खाको समयमा धेरै धमिलो पानी आउँदा ट्रिटमेन्ट प्लान्ट समेत काम नगरेका कारण समस्या भएको बताए। ‘उपभोक्ताको समस्याप्रति हामी सजक छौं र पनि केही गर्न सकिएको अवस्था छैन,’ उनले भने,‘मुहानबाटै धेरै धमिलो पानी आएपछि ट्रिटमेन्ट प्लान्टले पनि पानी फिल्टर गर्दैन। धेरै धमिलो पानी आउँदा धारामा पानी नपठाई बगाउने पनि गरेका छौं। कहिलेकाँही पिउन नभए शौचालयमा प्रयोग गर्न भए पनि काम लाउँछ पानी दिनुपर्‍यो भन्ने खालको उपभोक्ताको माग पनि हुने गरेकाले हल्का धमिलो हुँदा वितरण पनि गर्ने गरेका छौं।’  

उनले पनि नयाँ योजना सम्पन्न नहुँदासम्म अहिलेको समस्या समाधान गर्न मुस्कील भएको बताए। उपभोक्ताले जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यो विषयमा तत्काल समितिका व्यक्तिहरुलाई बोलाएर बुझ्ने बताए। ‘खानेपानीको समस्या गम्भीर विषय हो, यो विषयलाई मैले गम्भीरताका साथ लिएर उहाँहरुसंग बुझ्छु,’ उनले भने,‘समाधानका के उपायहरु हुन्छन् त्यसको लागि पनि छलफल अगाडि बढाउँछु।’ बागलुङ नगर उपप्रमुख राजु खड्काले खानेपानीको संवेदनशीलता बुझेको र त्यस विषयमा छलफल सुरु भैरहेको बताए। ‘यो विषयको गम्भीरतालाई हामीले बुझेका छौं, हाम्रो धारामा पनि आउने पानी त्यही हो,’ खड्काले भने,‘हामीले के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफलहरु चलाउन थालेका छौं।’

बागलुङ बजारमा वितरण हुने खानेपानीको समस्यालाई लिएर पटक पटक उच्च अदालत पोखराको बागलुङ ईजलासमा मुद्दा समेत पर्दै आएको छ। अदालतको आदेश समेत पालना भएको छैन। बागलुङ नगरपालिका-१ का टेकबहादुर सार्कीले दायर गरेको मुद्दामा फैसला गर्दै २०७५ साल भदौ १८ उच्च अदालत बागलुङले सफा र सुद्ध पानी उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यो फैसला कार्यान्वयन नभएपछि २०७७ साल साउन ३० गते अधिवक्ता रमेशबहादुर खड्काले सफा पानीको माग गर्दै अर्को मुद्दा दायर गरेका थिए। उक्त मुद्दामाथि २०७८ मंसिर २८ गते उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधिस श्रीकान्त पौडेल र सुदर्शनराज पाण्डेको इजलासले पाँच बुँदे उत्प्रेषणको परमादेश समेत जारी गरेका थियो।

उक्त परमादेशमा २०७८ चैत मसान्तसम्म सुद्ध खानेपानी वितरणका लागि अल्पकालीन र दीर्घकालिन खानेपानी योजनाको तर्जुमा गरी सार्वजनिक गर्न, जिल्ला जलस्रोत समितिले बजारमा वितरित खोपानी नियमित निर्मलीकरण गरिएको छ छैन भनेर अनुगमन गर्न, जिल्ला जलस्रोत समितिले अनुगमन समिति गठन गरी तीन तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्न, उल्लेखित बुँदाहरु कार्यान्वयनको प्रगति विवरण सम्बन्धी प्रतिवेदन दुई वर्षसम्म ६/६ महिनासम्म जलस्रोत समिति मार्फत उच्च अदालतमा पेश गर्न भनिएको छ। सरोकारवालाले भने अदालतको परमादेश समेत लत्याउँदा नागरिकले हैरानी खेप्नु परेको छ।

नागरिकको समस्या समाधानका लागि सरोकार निकायले चासो नदेखाए अदालतमा मानहानीको मुद्दा पर्ने अधिवक्ता बद्री उपाध्याय बताउँछन्। कैलमपोखरीबाट काठेखोलाको पानी रात्माटा तानेर सुद्धीकरण गरी वितरण गर्नेगरी खानेपानी योजना निर्माणको चरणमा भए पनि दुई वर्षमा सकिनुपर्ने योजना चार वर्षसम्म निर्माणकै चरणमा रहेको छ। कन्काई/जयमाता जेभी काठमाडौले ३० करोड २६ लाख ५९ हजारमा निर्माणको जिम्मा लिए पनि अहिलेसम्म काम पूरा नभएको हो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App