इटहरी उपमहानगरपालिका वडा नं. ६ र ९ क्षेत्रमा पसेको जंगली चितुवालाई साढे ६ घण्टापछि नियन्त्रणमा लिइएको छ।
इटहरी वडा नं. ६ एकता टोलका नेरु चौधरीको घर कम्पाउन्डभित्र पसेको चितुवालाई डार्ट (बेहोस) बनाएर नियन्त्रणमा लिइएको हो। झन्डै चालिस केजीको चितुवा नियन्त्रणमा लिन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं. १ र कोशी टप्पु वन्य जन्तु आरक्षको प्राविधिक टोली आएको थियो।
सोमबार बिहान ६ बजे देखिएको चितुवालाई डार्ट हान्ने क्रममा सशस्त्र प्रहरी र जनपद प्रहरीले बाहिरी सुरक्षा घेरा हालेका थिए। नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय, सुनसरीलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक स१जयसिंह थापाले बताए। अब वन कार्यालयले कोशी टप्पु वन्यजन्तु आरक्षको सहयोगमा चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाउने तयारी भएको छ।
नियन्त्रणमा लिइएको भाले चितुवा २ वर्ष उमेर भएको डिभिजन वन कार्यालय, सुनसरीका निमित्त डिभिजन वन अधिकृत गोपाल दाहालले बताए।
प्रकाशित: ३० जेष्ठ २०७९ १४:१३ सोमबार