सुर्खेतमा दलित समुदायले जातकै कारण अझै पनि आफूहरुले विभेद भोगिरहेको गुनासो गरेका छन्। माथिल्ला जातकाले छोइछिटो गर्ने, राज्यबाट पाउनुपर्ने सेवा–सुविधामा विभेद हुने, दलित भएकै कारण अपमान सहनुपर्नेलगायतका समस्या आफूहरुले भोगीरहेको उनीहरुको भनाई छ। भेरीगंगा नगरपालिका–१३ रामघाटमा आयोजित अन्तर (दलित र गैरदलित) समुदाय संवाद कार्यक्रममा सहभागी दलित समुदायका अगुवाहरुले कानुनी रुपमा छुवाछुत र जातीय विभेद गर्नुहुन्न भनिए पनि त्यो व्यवहारतः कार्यान्वयन नभएको बताए।
अन्तरजातीय विवाह गरेकी मनिषा विकले धारामा पानी लिन जाँदा आफूमाथि विभेद हुने गरेको सुनाइन्। ‘म धारामा पानी लिन जाँदा कोही नजिक आउँदैनन्,’ उनले भनिन्, ‘फर्केपछि पखालेर धाराको पानी भर्छन्।’ उनले अन्तरजातीय विवाहका कारण परिवारबाट अपहेलितको पीडा त एकातर्फ छँदैछ, त्यसमाथि समुदायबाट पनि आफूहरुमाथि विभेद भइरहेको बताइन्।
कार्यक्रममा सहभागी भक्त नेपालीले शिक्षित व्यक्तिहरुबाटै आफूहरुमाथि विभेद हुने गरेको बताए। ‘पुराना व्यक्तिहरुबाट छुवाछुतका घटना हुनु स्वभाविकै हो,’ नेपालीले भने, ‘अहिलेको नयाँ पुस्ता र शिक्षितहरुबाटै छुवाछुत र जातीय विभेदका घटना भएका छन्।’
दलित समुदायका नागरिकहरुले संविधानमा उल्लेखित कानुनलाई अक्षरशः पालना गर्न आग्रह गरेका छन्। ‘कानुन छ भन्ने निकायनै मौन हुँदा दलितमाथि बेलाबेला अप्रिय घटना हुने गरेका छन्,’ स्थानीय लक्ष्मण सुनारले भने, ‘मानसिकताबाटै जातीय विभेद अन्त्य गर्न प्रभावकारी रुपमा कानुन कार्यान्वयन गर्न जरुरी छ।’ उनले नजिकको सरकार स्थानीय तह भएकाले वडा कार्यालयबाट सामाजिक विकृति हटाउने अभियन सञ्चालन गर्नुपर्ने बताए।
भेरीगंगा नगरपालिका–१३ का वडाध्यक्ष गणेशबहादुर भण्डारीले आफ्नो कार्यकालमा छुवाछुत र जातीय विभेद उन्मुलनमा जोड दिने बताए। उनले जातीय विभेदमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता पनि जनाए। भेरीगंगा–१३ मा १२ जोडीले अन्तरजातीय विवाह गरेकाले उनीहरुको सुरक्षाका लागि वडा कार्यालय प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्ष भण्डारीले उनीहरुमाथि कुनै किसिमको जातीय विभेद भएको खण्डमा कानुनी कारवाहीका लागि सघाउने प्रतिवद्धता जनाए।
उनले आफ्नो कार्यकालमा वडालाई छुवाछुत तथा जातीय विभेदमुक्त वडा बनाउने पनि बताए। ‘दलित भएकै कारण कसैले अपमानित हुनुपर्ने छैन,’ वडाध्यक्ष भण्डारीले भने, ‘दलित भएकै कारण समाजले विभेद गरेमा तत्काल आफूलाई खवर गर्न आग्रह गर्दछु, वर्षौदेखिको जरो उखेल्न सबैको साथ आवश्यक रहेकाले सहयोगको अपेक्षा गरेको छु।’
भेरीगंगा नगरपालिकाको सहयोग र नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतको आयोजनामा गरिएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक धनमल विकेले जिल्लामा सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रममा सिभिल सोसाइटीका सामाजिक अभियन्ता गजधर सुनारले नेपालमा छुवाछुत र जातीय विभेदका घटना हुनुका कारण र त्यसको न्यूनिकरणका लागि थाल्नु पर्ने विषयमा जानकारी गराएका थिए। उनले नेपालमा विकास नहुनुमा स्रोत साधनको सही परिचालन नहुनु, जातीय विभेद कायमै रहनु र भ्रष्टाचार गतिविधिले प्रसय पाउनु मुख्य कारण रहेको उल्लेख गरे।
प्रकाशित: २९ जेष्ठ २०७९ १२:३८ आइतबार