१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौं-तराई द्रुतमार्गमा पर्ने ८९ मध्ये ८५ पुल निर्माण हुँदै

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ८९ वटामध्ये ८५ वटा पुलको निर्माण कार्य सुरु भैसकेको छ। रक्षा मन्त्रालयले जनाए अनुसार यसै वर्ष आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुलहरू निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएकोमा हालसम्म ५ वटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको छ।

रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेयता एक वर्षको अवधिमा ८५ वटा पुल निर्माणका लागि आवश्यक खरिद सम्झौता भएको हो। त्यसबाहेक द्रुतमार्गको काम पनि तीव्र रूपमा भएको छ। समष्टिगत कार्ययोजना अनुसारका १३ वटा निर्माण प्याकेजहरूमध्ये हालसम्म द्रुतमार्गको ६.५ किलोमिटरदेखि अन्तिम बिन्दु ७०.९७७ किलोमिटर खण्डमा पर्ने प्याकेज नं. १, २, ३, ४, ५, ६ ७, ८क, ८ख, ९क, ९ख र १० गरी १२ वटा निर्माण प्याकेजहरूको खरिद सम्झौता भई कार्यान्वयनमा रहेको पनि रक्षा मन्त्रालयले जनाएको छ।

प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानपश्चात् खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देधसँग पटक-पटक छलफल गरेका छन्। साथै रक्षा मन्त्री राईले सोमबार विहान सुरु बिन्दु खोकना पुगेर त्यहाँको वस्तुस्थितिबारे अवलोकन गरेका थिए।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गत रिसर्च एण्ड ट्रेनिङ यूनिट मार्फत गरिएको अध्ययन प्रतिवेदनको सुझावको आधारमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ। सो विषयमा रक्षा मन्त्रालयले छिटै उपयुक्त विकल्प पहिचान गरी कार्यान्वयनमा लैजाने योजना रहेको जनाएको छ।

आयोजनाको कुल लागत २ सय ११ अर्ब रहेकोमा २०८२ असार मसान्तसम्मको भौतिक प्रगति : ४१.३७ प्रतिशत रहेको छ। वित्तीय प्रगति तर्फ ४२.७४ प्रतिशत (मोबिलाइजेसन सहित) रहेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ को लागि संशोधित विनियोजित बजेट. १५.३० अर्बमध्ये हालसम्मको खर्च १३.४६ अर्ब भैसकेको पनि मन्त्रालयले जनाएको छ।

सुरुङ निर्माण कार्यको प्रगति आयोजना अन्तर्गत जम्मा सात वटा सुरुङहरूमध्ये प्याकेज नं. २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरुङहरूको ब्रेक थ्रु भैसकेको जनाएको छ। बाँकी सुरुङहरू निर्माणका चरणमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार रुख कटान र वृक्षरोपण हालसम्म ४९ हजार ६३४ वटा रुखहरू कटान सम्पन्न गरिएको छ। कटान गरिएका रुखहरूको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको छ।

प्रकाशित: १३ श्रावण २०८२ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App