खैरहनी नगरपालिका १२ का रामप्रसाद धमला कुमरोज सामुदायीक वनमा दैनिक घाँस काट्न जान्थे। सधैझै उनी चैत्र २६ गते पनि सामुदायीक वनको पुर्जि (प्रवेश अनुमति) लिएर घाँस काट्न गएका थिए। चर, घाँस काटेर सधै घर फर्किने गरेका ६२ वर्षीय धमला त्यस दिन फर्केनन्। बाघको आक्रमणमा परे। फुत्किन पाएनन्। बाघको आहारा बन्न पुगे। २०३२ सालमा नुवाकोटदेखि चितवन झरेका धमलाले गाईबस्तु पालेर नै ८ जनाको परिवारको गुजारा चलाउँदै आएका थिए। तर, उनको मृत्यु भएपछि उनका घरपरिवार नै सामुदायीक वनमा छिरेका छैनन्।
‘उहाँको काम नै घाँस काट्ने हो। दिनको एकपटक घाँस काट्न जानुहुन्थ्यो। कहिले काहीँ हामी पनि जान्थ्यौँ। उहाँलाई त्यस्तो भएपछि (आक्रमण गरेपछि) हामी गएका छैनौँ,’ धमलाकी श्रमती चन्द्रकुमारी धमलाले भनिन्, ‘घरमा ३ वटा गाई र २ वटा भैसी छन्। तर, वनमा जान मन नै लाग्दैन।’
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती सामुदायीक वनमा अधिकांश मानिसहरु आश्रित छन्। धमला जस्तै घाँस दाउरा गर्ने क्रममा अधिकांश मानिसहरु बाघको शिकार बन्न पुगेका छन्। सोमबार मात्रै राप्ती नगरपालिका १ लोथरकी सोतीमायाँ तामाङलाई पनि बाघले आक्रमण गर्यो। दिउँसो चार बजेको समयमा चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी ५२ वर्षीया तामाङलाई बाघले लग्यो।
९ दिन अगाडि भरतपुर महानगरपालिका १३ की फूलकुमारी बोट पनि बाघको आक्रमणमा परिन्। घर नजिकै रहेको बेलशहर सामुदायीक वनमा दिउँसो दुई बजे भुईको घास काट्न गएकी थिइन्। अन्य दिन घाँस काटेर सकुशल फर्केने बोट फर्किनन्।
बाघका आक्रमणमा उनीहरु मात्र होइन। निकुञ्जको मध्यवर्ती क्षेत्रसँग आश्रित मानिसहरु बाघको आक्रमणमा पर्ने गरेका छन्। राप्तीका ४० वर्षीय प्रेम परियार बाघको आक्रमणमा परेर ज्यान गुमाए। संयुक्त राप्ती सामुदायीक वनमा घाँस काट्न जाँदा बाघको आक्रमणमा परेका थिए।
यस्ता घटनाहरु चितवनमा नियमित जस्तै हुन थालेका छन्। दुई वर्षको अवधिमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्ष १४ जनाको मृत्यु भैसकेको छ। फागुन महिनादेखि हालसम्म ९ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। बाघको आक्रमणबाट सबैभन्दा बढी पूर्वी चितवनका मानिसहरुको मृत्यु भएको छ। तीन महिनाको अवधिमा पूर्वी चितवनका ६ जनाले बाघको आक्रमणबाट ज्यान गुमाउनु परेको छ।
पाँच वर्षअघि भएको गणनामा चितवनमा ९३ वटा बाघ रहेका छन्। अहिले बाघको संख्या बढेको अनुमान गरिएको छ। बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। तर, वनमा घाँसदाउराका लागि जाँदा सावधानी नअपनाउँदा समस्या आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। ‘बाघकोे आक्रमणबाट सबै घटना वन क्षेत्रमा छन्,’ उनले भने, ‘हामीले अनुमति प्रदान गरेका क्षेत्रमा प्रवेश गर्दा सावधानी अपनाएर छिर्नुपर्यो।’
मध्यवर्ती क्षेत्रका बासिन्दाहरु निकुञ्ज तथा सामुदायीक वनको अनुमति लिएर घाँसदाउरा गर्न छिर्ने गर्दछन्। सोही क्रममा अधिकांश मानिसहरु बाघको आक्रमणमा परेका छन्। ‘बाघको आक्रमण सबै घटना वन क्षेत्रमा नै छन्। गाउँ आएर भएका छैनन्, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले भने, ‘स्थानीय वन क्षेत्रमा प्रवेश गर्दा सचेतना नपुगेको हो कि?’ उनले वनमा बिहान र साँझ जान नहुने बताए। ‘वन छिर्दा ग्रुपमा जाने, बाघका पाइला हेरेर निस्कने गर्नुपर्छ,’ उनले भने, ‘सकेसम्म रातो कपडा लगाएर छिर्न हुँदैन।’ अहिले न्यूरो टिप्ने समय भएकाले पनि मानिसहरु जंगलमा बढी जाने गरेको उनले बताए।
दुई वर्षमा बाघको आक्रणमा पर्नेमध्ये अधिकांश वन क्षेत्रमा प्रवेश गरेका व्यक्तिहरु नै छन्। बाघको आक्रमणबाट आर्थिक वर्ष २०७७/०७८ मा भरतपुर १३ का बाबुराम गुरौँ, जन्हु महत्तो, रत्ननगर नगरपालिका ६ का बहना महत्तो, मध्यविन्दु नगरपालिका १० का धनबहादुर कुमाल, रत्ननगर नगरपालिका ५ का गिता अधिकारीको मृत्यु भएको थियो। त्यस्तै चालु आर्थिक वर्ष २०७८/०७९मा भरतपुर १३ गितानगरका बसन्तमणी सुवेदी, खैरहनी १३ का दिनेश बोट, विनयी त्रिवेणी गाउँपालिका १ का जितबहादुर कामी, मध्यविन्दु नगरपालिका १२ का बरिसा सारु, भरतपुर १३ का डिल्लीराज सुवेदी, राप्ती नगरपालिकाका जिता सर्कीनी, सुरेश सुनार, खैरहनीका भदै महतो, निकुञ्जका कर्मचारी रमेश चौधरी, नारायणबहादुर दाहाल, प्रेम परियार, खैरहनी १२ का रामप्रसाद धमला, भरतपुर १३ की फुलमाया बोट, राप्ती १ की सोतीमायाँ तामाङको मृत्यु भएको छ।
प्रकाशित: १७ जेष्ठ २०७९ १३:४३ मंगलबार