११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

हत्यामा संलग्न तीनजना पक्राउ

मोरङको कटहरीका ५० वर्षीय तुलसी श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

कटहरी गाउँपालिका–२ घर भएका श्रेष्ठको हत्या गरिएको घटनामा संलग्न कटहरी–१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी–३ का २८ वर्षीय नितेश चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

कटहरी–१ महेशपुरस्थित सडक छेउको नाली नजिकै खेतको डिलमा आइतबार बिहान शव फेला परेको थियो। शनिबार राति घरबाट हिँडेका श्रेष्ठको खोजी गर्ने क्रममा हत्या गरेर फ्यालेको अवस्थामा शव फेला परेको र उनको निधार र तालुमा चोट रहेको प्रहरीले जनाएको छ।  

रातको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडेका श्रेष्ठसँग भेट भएपछि सम्झाइबुझाई गर्ने क्रममा उनीहरुसँगै विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘सम्झाउने क्रममा विवाद भएपछि ३ जना मिलेर बाँसको मुँग्रो र ढुंगाले टाउकोमा प्रहार मृत्यु भएको हो। घटनामा प्रयोग गरिएको मुँग्रोसमेत बरामद गरिएको छ।’  

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउनका लागि अनुसन्धान थालेको छ। प्रहरीका अनुसार बिहे गरेकी श्रीमतीले छाडेको र सन्तान पनि नभएका तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएका थिए।

प्रकाशित: १५ जेष्ठ २०७९ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App