२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास

नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ। स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैंले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ।

काठमाडौँ, भरतपुर, पोखरामहानगरलगायत ठूला सहरमा एक्जिट पोल गरेर निर्वाचनकै साँझ नजिता प्रकाशन गरिएको थियो। विभिन्न देशमा निर्वाचनका क्रममा अभ्यास गर्ने गरिएको एक्जिट पोल नेपालमा पनि स्थानीय तहको निर्वाचनमा गरिएको छ। मिडिया आउटलेटका प्रबन्ध निर्देशक अरुण लम्साल नेपालमा पनि एक्जिट पोल तथा पब्लिक ओपिनियनको अभ्यास हुन थालेको बताउँछन्।

'नेपालमा पनि निर्वाचनको एक्जिट पोलको अभ्यास भएको छ,' उनले भने, 'यो राम्रो पक्ष हो। प्रायःजसो एक्जिट पोलअनुसार नतिजा मिलेको पाइएको छ।'

मिडिया आउटलेटले पनि इलेक्सन क्याम्पेनिङ, पब्लिक ओपिनियन, अनुसन्धान एवं पार्टीको नीति र नेतालाई ट्र्याकिङ गरेको थियो। उनका अनुसार यसपटकको स्थानीय तहको निर्वाचनमा मिडिया आउटलेटले भरतपुर महानगरको एक्जिट पोल गरेको थियो। मिडिया आउटलेटले भरतपुरमा मतदान केन्द्रमा मतदान गरिसकेका मतदातालाई मतदान केन्द्रभन्दा ५०० मिटर टाढा पुनःमतदान गर्न लगाएको थियो। सोही मतदान गरेका आधारमा मिडिया आउटलेटले भरतपुरको मतपरिमाण प्रक्षेपण गरेको थियो।

मिडिया आउटलेटले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको साँझ नै महागरको एक्जिट पोल सार्वजनिक गरेको थियो। 'एक्जिट पोल र निर्वाचन आयोगको मतपरिमाण करिब करिब मिलेको छ,' लम्साल भन्छन्, 'हामीले १० मतदान केन्द्रमा गई ७५७ जनालाई समेटेर एक्जिट पोल गरेका थियौँ।'

एक्जिट पोलअनुसार भरतपुर महानगरका प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ४१.०८ प्रतिशत मत ल्याएका थिए। निर्वाचन आयोगका अनुसार दाहालले ४०.६९ प्रतिशत अर्थात् ५२ हजार २८ मत पाएर निर्वाचित भए। एक्जिट पोलमा एमालेतर्फका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ३४.६१ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको थियो। आयोगले सार्वजनिक गरेको मतपरिणाममा सुवेदीले ३०.९६ प्रतिशत अर्थात् ३९ हजार ५८२ मत ल्याएका थिए।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२.५४ प्रतिशत मत पाउने मिडिया आउटलेटको प्रक्षेपण थियो। आयोगको नजिता आउँदा पौडेलले ११.५२ प्रतिशत अर्थात् १४ हजार ७२८ मत पाएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App